images
images
  • मेची भन्सारको राजस्व प्रदर्शनमा उल्लेखनीय सुधार

    काठमाडौं– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गर्दै पछिल्ला चार आर्थिक वर्षयता लक्ष्य प्राप्तिको दरमा निरन्तर सुधार गरेको छ।

    कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकामा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब रु एक अर्ब ७४ करोड ६० लाखले बढी हो।

    आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजारको लक्ष्यमध्ये रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन गर्दै लक्ष्यको ९१.८६ प्रतिशत हासिल गरेको थियो।

    त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजारको लक्ष्य रहेकामा रु १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व सङ्कलन भएको थियो, जसले लक्ष्य प्राप्ति दर ७८.४० प्रतिशत पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा भने रु २० अर्ब २४ करोड १८ लाख ३८ हजारको लक्ष्यमध्ये रु १४ अर्ब चार करोड ५९ लाख २० हजार राजस्व सङ्कलन भई लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशत रहेको थियो।

    चार आर्थिक वर्षको तथ्याङ्कले लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशत पुगेको देखाएको छ। वार्षिक लक्ष्यमा केही उतारचढाव भए पनि वास्तविक राजस्व सङ्कलन भने पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा रहेको छ।

    विसं २०१३ मा स्थापना भएको मेची भन्सार कार्यालय नेपालका प्रमुख तथा रणनीतिक महत्वका भन्सार कार्यालयमध्ये एक हो। कार्यालयअन्तर्गत छ वटा छोटी भन्सार कार्यालय रहे पनि हाल गौरीगञ्ज छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा रहेको सूचना अधिकारी माङ्कल राईले जानकारी दिए। अन्य छोटी भन्सार कार्यालय हाल सञ्चालनमा छैनन्।

    मेची भन्सारबाट भारत, चीन, बङ्गलादेश, भुटानलगायत मुलुकसँग आयात–निर्यात व्यापार हुँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images