सङ्खुवासभा — लगातारको वर्षापछि सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा आएको बाढीपहिरोले विद्युत, सञ्चार तथा यातायात सेवा अवरुद्ध भएको छ । प्राकृतिक विपद्का कारण दुई विद्यालयमा पनि क्षति पुगेको हो । विद्यालयमा क्षति पुग्दा १७० जना विद्यार्थीको पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ ।
गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार सिलिचोङ–१ स्थित सिसुवाखोलामा आएको बाढीपहिरोले गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध बनाएको छ । केन्द्रीय विद्युत् लाइन, माइक्रो हाइड्रो आयोजना, इन्टरनेट तथा सञ्चार सेवा प्रभावित हुँदा सरकारी सेवा प्रवाहसमेत प्रभावित भएको उनले बताए।
पहिरोका कारण गाउँपालिकाभित्रका अधिकांश सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन्। स्थानीय दुईवटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाले जनाएको छ।
बाढीपहिरोका कारण सिलिचोङ–१ सिसुवाखोलाका ६ घर विस्थापित भएका छन्। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। साथै तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगाने क्षेत्रका १०० भन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेका छन्।
जोखिम बढेपछि ती क्षेत्रका स्थानीयवासी घर छाडेर सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसेका छन्। स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको अनुगमन गरिरहेको भए पनि सडक अवरुद्ध हुनु र निरन्तर वर्षा भइरहेका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले प्रभावित बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनस्र्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक सहयोगको माग गरेको छ। साथै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।























