काठमाडौं– शिक्षक तथा विद्यालय कर्मचारीहरूले ट्रेड युनियन अधिकार नखोस्न र संविधानको अनुसूची–८ मा रहेको शिक्षा सम्बन्धी व्यवस्था खारेज गर्न सरकारसँग माग गरेका छन् ।
एजुकेसन इन्टरनेसनलमा आबद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, संस्थागत विद्यालय शिक्षक युनियन र नेपाल विद्यालय कर्मचारी परिषद्ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त माग अघि सारेका हुन् ।
संविधानको अनुसूची–८ अनुसार आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकार सूचीमा राखिएकोप्रति उनीहरूले असन्तुष्टि जनाउँदै त्यसलाई खारेज गर्न माग गरेका छन् । उनीहरूले ट्रेड युनियन अधिकार संविधानले सुनिश्चित गरेको भन्दै त्यसमा कुनै हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे ।
त्यसैगरी, उनीहरूले सार्वजनिक शिक्षा सुदृढीकरणका लागि शिक्षा क्षेत्रमा कुल बजेटको कम्तीमा २० प्रतिशत वा जीडीपीको ६ प्रतिशत विनियोजन गर्नुपर्ने, शिक्षाकर्मीहरूको श्रम अधिकार र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्नुपर्ने, गुणस्तरीय तालिम तथा व्यावसायिक विकासमा लगानी बढाउनुपर्ने माग गरेका छन् ।
उनीहरूले शिक्षा ऐन तुरुन्त जारी गर्न, सरकारसँग भएका विगतका सहमति कार्यान्वयन गर्न, दुई दिने बिदा प्रणालीका समस्या समाधान गर्न, पेशागत संगठनमाथिको हस्तक्षेप रोक्न र सबै अस्थायी शिक्षक तथा कर्मचारीको उचित व्यवस्थापन गर्न पनि आग्रह गरेका छन् ।
त्यसैगरी निजी विद्यालय तथा पेन्सनविहीन शिक्षाकर्मीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न, दिवा खाजा कार्यक्रमको अनुदान बढाउन र शिक्षा क्षेत्रमा कर सुधारमार्फत लगानी वृद्धि गर्न सरकारलाई आह्वान गरिएको छ ।























