images
images
  • तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते गोरखामा गुरुङ समुदायको मौलिक परम्परा र संस्कृतिअनुसार विवाह गर्ने बताएका छन् । विवाहलाई भड्किलो, खर्चिलो र प्रतिष्ठाको प्रदर्शन बनाउनुको सट्टा सादगीपूर्ण रूपमा सम्पन्न गर्ने आफ्नो योजना रहेको उनले स्पष्ट पारेका छन् ।

    तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पहिलोपटक गुरुङ समुदायका माझ आफ्नो विवाहबारे सार्वजनिक रूपमा जानकारी दिन पाउँदा खुसी र गर्व लागेको बताए ।

    उनले विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा, परम्परा र पुर्खाको पहिचानलाई प्राथमिकता दिने बताए ।

    ‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु। आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र गर्व लागेको छ । मेरो विवाह पनि एकदमै गुरुङ परम्पराअनुसार गर्ने सोच बनाएको छु,’ उनले भने ।

    गोरखामा विवाह गर्ने निर्णय आफ्नो पुर्खाको इतिहास, सामुदायिक पहिचान र मौलिक संस्कृतिको संरक्षणसँग जोडिएको उनले बताए । आफ्नो व्यक्तिगत खुसीसँगै आगामी पुस्तालाई इतिहास, परम्परा र सांस्कृतिक पहिचान हस्तान्तरण गर्ने उद्देश्यले परम्परागत शैलीमा विवाह गर्न लागेको उनको भनाइ छ ।

    ‘आफ्नो समुदाय, समाज, इतिहास, पुर्खा र गाउँठाउँ बिर्सेर अर्काको संस्कृति अपनाउँदै नयाँ शैलीमा विवाह गर्न मलाई मन छैन । आफ्नो देशको इतिहास, परम्परा, भेषभूषा र जातीय पहिचान जोगाउनका लागि गोरखा रोजेको हुँ,’ उनले भने ।

    विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धा बनाउनु हुँदैन

    गृहमन्त्री गुरुङले विवाहलाई सामाजिक प्रतिष्ठा देखाउने प्रतिस्पर्धा बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे । ऋण लिएर भए पनि भव्य भोजभतेर, महँगा समारोह र तामझाम गर्नुपर्ने सामाजिक दबाब उचित नभएको उनको धारणा छ ।

    ‘विवाह भनेको एकअर्काका लागि हो, अरूका लागि होइन । दुःख–सुखमा साथ दिने भनेको श्रीमान्–श्रीमती र आफ्नो परिवार हो। त्यसैले विवाहमा अनावश्यक खर्च र तामझाम गर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने ।

    आफू गृहमन्त्री भएको अवस्थामा पार्टी प्यालेसमा भव्य समारोह आयोजना गर्न सकिने भए पनि त्यसो नगर्ने निर्णय गरेको उनले बताए । आफू र हुनेवाला श्रीमती दुवैको चाहना विवाहलाई सरल, आत्मीय र परम्परागत शैलीमा सम्पन्न गर्ने रहेको उनले सुनाए ।

    विवाह समारोहमा सीमित व्यक्तिहरू मात्रै सहभागी हुने भएकाले सबैलाई निमन्त्रणा गर्न सम्भव नहुने पनि उनले जानकारी दिए ।

    विवाहस्थललाई पर्यटन गन्तव्य बनाउने चाहना

    गोरखामा विवाह गर्नुको अर्को उद्देश्य स्थानीय गाउँठाउँको पहिचान र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनु रहेको गृहमन्त्री गुरुङले बताए । विवाह हुने स्थानलाई भविष्यमा पर्यटकीय गन्तव्य तथा वेडिङ डेस्टिनेसनका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

    स्थानीय होमस्टे, मौलिक कला, संस्कृति, प्राकृतिक सौन्दर्य र हिमाली पर्यटनलाई प्रवर्द्धन गर्ने वातावरण बनाउन आफूले चाहेको उनले बताए ।

    ‘एउटा गृहमन्त्री भएको समयमा पार्टी प्यालेसमा गएर आफ्नो खुसीका लागि मात्रै विवाह गर्न सकिन्थ्यो होला । तर, आफ्नो समुदाय र गाउँठाउँको पहिचान पनि जोगिनुपर्छ । त्यो ठाउँमा पर्यटक आउने वातावरण बनोस्, पर्यटन र वेडिङ डेस्टिनेसनका रूपमा विकास होस् भन्ने मेरो चाहना छ,’ उनले भने ।

    विवाह समारोहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुने अपेक्षा गरेको उनले बताए । तर, समारोहलाई सीमित र सामान्य बनाउने आफ्नो योजना रहेको उनले दोहोर्‍याए ।

    गुरुङ समुदायप्रति आभार

    सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्‍याएको योगदानको स्मरण गर्दै देश तथा विदेशमा रहेका समुदायका सदस्यहरूप्रति आभार व्यक्त गरे ।

    सामान्य नागरिक हुँदादेखि नै समुदायले साथ, सहयोग र हौसला दिएको उल्लेख गर्दै उनले विगतका कठिन परिस्थितिमा समुदायले देखाएको समर्थन आफूले कहिल्यै नबिर्सने बताए ।

    काठमाडौंको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालका नागरिकले दिएको साथ स्मरण गर्दै उनले सात महिनासम्म चलेको आन्दोलनमा पूर्वी क्षेत्रबाट निरन्तर समर्थन प्राप्त भएको उल्लेख गरे । विभिन्न आरोप, आलोचना र कठिन परिस्थितिका बीच पनि समुदायले साथ दिएको उनको भनाइ थियो ।

    ‘आफ्नो पार्टीको झन्डाभन्दा देश माथि छ भन्ने पाठ हाम्रो समाजले सिकाएको छ । मेरो कठिन समयमा साथ दिने सम्पूर्ण गुरुङ समाजप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

    सुशासन र नागरिक सुरक्षाप्रति प्रतिबद्धता

    गृहमन्त्री गुरुङले देशमा सुशासन, समृद्धि र नागरिक सुरक्षाका लागि सरकार आवश्यक परे जुनसुकै हदसम्म जान तयार रहेको पनि बताए ।

    नागरिकको सुरक्षा र देशको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नागरिक सुरक्षाका लागि आफू दृढ रहेको उल्लेख गरे ।

    ‘नागरिकको सुरक्षाका लागि सुधन गुरुङ तयार छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images