काठमाडौं । रुस र युक्रेनबीच हवाई तथा ड्रोन आक्रमण तीव्र बन्दै जाँदा रुसी हवाई प्रतिरक्षा प्रणालीले रातभरमा १ हजार २४६ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।
रुसी रक्षा मन्त्रालयले शनिबार मस्को क्षेत्रसहित एक दर्जनभन्दा बढी स्थानमा युक्रेनका मानवरहित विमानहरूलाई आकाशमै नष्ट पारिएको जनाएको हो ।
मस्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार रातको समयमा मस्को क्षेत्रतर्फ ४६० भन्दा बढी ड्रोनहरू अघि बढेका थिए, जसमध्ये राजधानीनजिकै पुगेका १२३ वटालाई हवाई प्रतिरक्षाले खसालेको थियो ।
यता, युक्रेनले पनि रुसले विभिन्न क्षेत्रमा सयौँ ड्रोन प्रहार गरेको जनाएको छ । जापोरिझिया क्षेत्रीय सैन्य प्रशासनका प्रमुख इभान फेदोरोभका अनुसार पछिल्लो २४ घण्टामा रुसले उक्त क्षेत्रमा ७०० भन्दा बढी ड्रोन प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
रुसी रक्षा मन्त्रालयले भने युक्रेनी सेनासँग सम्बन्धित अखडाहरूमा मात्र निसाना बनाइएको दाबी गरेको छ ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आगामी दिनमा अर्को ठूलो स्तरको आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् ।
रात्रिकालीन भिडियो सम्बोधनमार्फत उनले थप हवाई प्रतिरक्षा प्रणाली जुटाउन मित्रराष्ट्रहरूसँग भइरहेको वार्ताको प्रतिवेदन पर्खिरहेको बताए ।
अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता चीनमा भएको भेटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपविरुद्धको सैन्य आक्रामकता रोक्न आग्रह गरेको बताएका छन् । पुटिनलाई आफ्नो मित्र बताउने ट्रम्पले यसले युद्ध अन्त्यको सम्झौतामा पुग्न सघाउने विश्वास व्यक्त गरे ।
यस्तै, अमेरिकी दूत जारेड कुशनरले द्वन्द्व थप नचर्काउन चेतावनी दिँदै यो युद्धलाई रुसविरुद्ध युरोपले युक्रेनलाई हतियार र पैसा दिएर लडाइरहेको ‘प्रोक्सी वार’ को संज्ञा दिएका छन् ।





















