काठमाडौं ।
अखिल नेपाल फुटबल संघ का अध्यक्ष पंकजविक्रम नेम्बाङ सहित २४ पदाधिकारीको पासपोर्ट कालोसूचीमा राखिएको छ। अध्यागमन विभाग का अनुसार शुक्रबार प्राप्त निवेदनअनुसार उनीहरूको पासपोर्ट कालोसूचीमा राखिएको हो।
यसअघि राष्ट्रिय खेलकुद परिषद ले एन्फासम्बन्धी आर्थिक विषयमा छानबिन गर्न कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो। सोही समितिको सिफारिसमा पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको हो।
उक्त सिफारिस युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय मार्फत अध्यागमन विभागमा पुगेपछि कालोसूचीमा राखिएको जनाइएको छ। कालोसूचीमा परेका व्यक्तिले विदेश जान खोजेमा सम्बन्धित निकायलाई जानकारी गराइने व्यवस्था छ।
खेलकुद परिषद र एन्फाबीच पछिल्लो समय विवाद चलिरहेको छ। परिषदले निर्देशन विपरीत निर्वाचन गर्न लागेको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बनसमेत गरेको थियो।
यसैबीच क्यानडाको भ्यानकुवरमा हुने ७६औँ फिफा कंग्रेसमा सहभागी हुने कार्यक्रम रहेको अवस्थामा पासपोर्ट कालोसूचीमा परेपछि एन्फा पदाधिकारीहरूको भ्रमण अनिश्चित बनेको छ।


विश्व खबर 



















