काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्रीका दुई उम्मेदवार भिडेको निर्वाचन क्षेत्र, झापा-५ दुई नगरपालिकाका मतदाता निर्णायक बन्ने देखिएको छ ।
यस क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वन्तन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाह भावी प्रधानमन्त्रीका उम्मेदवार हुन् ।
प्रधानमन्त्रीका उम्मेदवारलाई जिताउने कि हराउने, नतिजा अब मतदाताको हातमा छ ।
झापा-५ मा प्रधानमन्त्रीका दुई जना उम्मेदवारमध्ये कम्तिमा एक जनाको हार निश्चित हो। तर २२ जना उम्मेदवार रहेको यो क्षेत्रमा बाजी यी दुई बाहेक अर्को उम्मेदवारले पल्टायो भने दुबै उम्मेदवारको संसद् प्रवेशको बाटो त रोकिन्छ नै, सरकारको नेतृत्व गर्ने दौड पनि सकिनेछ।
१ लाख ६३ हजार ३ सय ७९ जना मतदाता रहेको यो क्षेत्रको नतिजामा दमक नगरपालिकाको मत निर्णायक हुनेछ । १० वटा वडाका ६५ हजार ९ सय ९७ मतदाताले झापा-५ को परिणाम निर्धारण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
झापा-५ मा ४ पालिकामा २९ वटा वडा छन्। गौरादह नगरपालिकाका ८ वटा वडाका ४१ हजार ४ सय ७५ मतदाताले पनि नतिजामा प्रभाव पार्नेछन्।
दुवै नगरपालिकाले यसअघि पुराना पार्टीलाई मत दिँदै आएको इतिहास छ। तर यहाँका मतदाता भन्छन्- हामी परिवर्तनको पक्षमा छौं।
यसअघि कांग्रेस र एमालेलाई जिताउँदै आए पनि जग्गाको नक्सा पास नहुँदा गौरादहका मतदाता असन्तुष्ट देखिँदै आएका छन् ।
झापा–५ मा गौरीगञ्ज र कमल गाँउपालिका छन् । गौरीगञ्जका चारवटा वडामा सबभन्दा कम १५ हजार १ सय २१ मतदाता रहेका छन् भने कमल गाउँपालिकाका ७ वडामा ४० हजार ७ सय ८६ मतदाता छन् ।
यसक्षेत्रका मतदाताहरूले पनि यसअघि पुराना दलका उम्मेदवारहरूलाई मत दिँदै आएका हुन्।
यसपटक नयाँ दल र नयाँ उम्मेदवार मैदानमा हुँदा निर्णय गर्न मतदातालाई कठिन छ।
२०७९ को स्थानीय निर्वाचनमा झापा-५ का २९ वटा वडामा एमालेले १७, कांग्रेसले ७, तत्कालीन माओवादी केन्द्रले २, समाजवादीले १, राप्रपाले १ र स्वतन्त्रले १ वडाध्यक्ष जितेका थिए ।
देशभर नै नयाँ र पुराना दलबीच मतदाताहरू धुव्रीकृत भइरहेका बेला झापा-५ मा पनि यो माहोल देखिएको छ।
चुनावी सरगर्मी बढिरहेका बेला पूर्वप्रधानमन्त्रीदेखि पूर्व मेयर र युवा उम्मेदवारहरूले आफ्ना मुद्दा उत्कृष्ट रहेकाले आफू विजयी हुने दाबी गरिरहेका छन् ।
मतदाताहरू भने उम्मेदवारले आफ्ना समस्या समाधान नगरेको भन्दै असन्तुष्टि पोखिरहेका छन् ।
यही असन्तुष्टिका बीच झापा-५ को चुनावी दौडमा उत्रिएका २४ उम्मेदवारमध्ये कसले बाजी मार्छ, यसका लागि भने २१ फागुन नै कुर्नुपर्ने छ।


विश्व खबर 




















