काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो। यसअनुसार ठूलो अण्डा एक क्रेटको मूल्य रु चार सय ९५ पुगेको छ।
यसअघि प्रतिक्रेट रु चार सय ६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु ३० ले बढेको हो। यस्तै मझौला अण्डाको फार्म मूल्य रु चार सय ७५ कायम गरिएको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो।
अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो। अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ ।
यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ ६ पैसा पर्न आउँछ।


विश्व खबर 



















