काठमाडौं– नेपाली बजारमा सुन र चाँदीको मूल्यले हालसम्मकै उच्च कीर्तिमान बनाएको छ । बुधबार सुनको मूल्य एकै दिन तोलामा १० हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढ्दै ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ, जुन चाँदीको इतिहासमै उच्च मानिन्छ । डलरको विकल्प खोज्दै विश्व सुनतर्फ मोडिँदा त्यसको प्रभाव नेपाली बजारमा तीव्ररूपमा देखिएको छ ।
आयातमा पूर्णरूपमा निर्भर नेपालमा अन्तर्राष्ट्रिय बजारको सानो उछाल पनि ठूलो मूल्यवृद्धिका रूपमा प्रकट हुन्छ । हाल देखिएको मूल्यवृद्धि केवल बजारको संयोग नभई विश्व अर्थ–राजनीतिक परिवेशको प्रतिफल भएकाले यसले दीर्घकालीन आर्थिक बहससमेत जन्माएको छ ।
चार दिनमै अस्वाभाविक वृद्धि
गत आइतबारदेखि सुनको मूल्य निरन्तर बढ्दै आएको थियो । आइतबार तोलामा ६ सय, सोमबार ४ हजार २ सय, मंगलबार २ हजार ७ सय र बुधबार एकै दिन १० हजार ४ सय रुपैयाँ वृद्धि भएको छ ।
यसरी चार दिनमै सुनको मूल्य तोलामा १७ हजार ३ सय रुपैयाँ बढ्नुले बजारमा अस्वाभाविक दबाब सिर्जना गरेका े छ । व्यवसायीहरूका अनुसार यस्तो तीव्रवृद्धि सामान्य मौसमी मागका कारण मात्र नभई अन्तर्राष्ट्रिय घटनाक्रमसँग प्रत्यक्ष जोडिएको छ ।
अन्तर्राष्ट्रिय बजारको सिधा प्रभाव
नेपालमा सुनको मूल्य निर्धारण पूर्णरूपमा अन्तर्राष्ट्रिय बजारमा आधारित हुन्छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस करिब ४ हजार ७ सय डलरआसपास कारोबार भएको थियो । चाँदी पनि प्रतिऔंस ९५ डलरनजिक पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नासाथ त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिने गर्छ । नेपालमा सुन उत्पादन हुँदैन र सम्पूर्ण सुन आयातमै निर्भर छ ।
डलरको विकल्प
पछिल्लो समय विश्वका ठूला अर्थतन्त्रहरू अमेरिकी डलरको विकल्प खोज्दै सुनतर्फ आकर्षित भएका छन् । चीन, रसिया, भारत, टर्की, ब्राजिललगायत देशका केन्द्रीय बैंकहरूले विदेशी मुद्रा सञ्चितिमा डलरको हिस्सा घटाउँदै सुनको सञ्चिति बढाएका छन् । केन्द्रीय बैंकहरू स्थायी र ठूलो खरिदकर्ता भएकाले उनीहरूको सक्रियताले विश्व बजारमा सुनको माग दीर्घकालीन रूपमा बढाएको विश्लेषक बताउँछन् ।
यही प्रवृत्तिले सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो । अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा बढ्दो अनिश्चितता र भूराजनीतिक तनावका कारण सुनलाई सुरक्षित सम्पत्तिका रूपमा हेरिन थालेको हो ।
बजारमा बहुआयामिक असर
सुनको मूल्य वृद्धिले नेपाली अर्थतन्त्रमा बहुआयामिक असर पारेको छ । एकातिर, ढिक्का सुनमा लगानी गर्नेहरूले छोटो अवधिमै उल्लेख्य नाफा कमाएका छन् । गत पुस ७ गते सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । एक महिनामा सुनको मूल्य तोलामा ३३ हजार ४ सय रुपैयाँ बढेको छ, जसलाई करिब १३ प्रतिशत प्रतिफल मानिन्छ ।
तर अर्को तर्फ, उपभोक्ता र गहना व्यवसायी दबाबमा परेका छन् । विवाह, चाडपर्व र सामाजिक समारोहका लागि गहना किन्ने क्षमता घटेको व्यवसायीहरू बताउँछन् । ‘पहिले २० तोलाको गहना किन्ने ग्राहक अहिले ५–७ तोलामै सीमित भएका छन्,’ काठमाडौंका एक सुन व्यवसायीले बताए । लगातार मूल्य बढ्दा बजार कारोबार भने मन्द बन्दै गएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिरपछि अपेक्षित रूपमा बिक्री हुन नसक्दा बैंकहरूमा उल्लेख्य मात्रामा सुन स्टक बसेको थियो । पुस अफसिजन भएकाले आयात पनि कम भएको थियो । तर मूल्य आकस्मिक रूपमा बढेपछि पुनः कारोबार चहलपहल देखिए पनि उपभोक्ता सतर्क देखिन्छन् । –पत्रपत्रिकाबाट


विश्व खबर 



















