काठमाडौं– ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले “महालक्ष्मी माघ महोत्सव” (डिजिटल प्रवर्द्धन महिना) सञ्चालन गर्ने भएको छ । बैंकले हरेक वर्ष माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिनाका रूपमा मनाउने निर्णयअनुसार यो महोत्सव सुरु गरेको हो ।
हाल बैंकको दैनिक कुल कारोबारमध्ये औसतमा ८० प्रतिशतभन्दा बढी कारोबार डिजिटल माध्यमबाट हुँदै आएको छ । यसलाई अझ वृद्धि गर्न बैंकले डिजिटल सेवामा विभिन्न आकर्षक सुविधा थप गरेको जनाएको छ ।
यस महोत्सवअन्तर्गत बैंकको मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” मार्फत मुद्धती खाता खोल्दा ग्राहकले व्यक्तिगत मुद्धती खातामा प्रदान गरिने ब्याजदरभन्दा ०.२५ प्रतिशत बढी ब्याजदर प्राप्त गर्नेछन् । स्मार्ट साथी एपमार्फत खोलिने मुद्धती खातामा नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी नियमनभित्र रही ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।
त्यसैगरी, महोत्सवलाई थप आकर्षक बनाउन भर्चुअल तथा साधारण क्रेडिट कार्ड जारी गर्दा तथा तिनको वार्षिक शुल्कमा १०० प्रतिशत छुट दिइनेछ । डेबिट कार्ड जारी गर्दा र मोबाइल बैंकिङ दर्ता गर्दा पनि शतप्रतिशत शुल्क छुटको व्यवस्था गरिएको छ । साथै, मोबाइल एपमार्फत फार्मेसीको बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
भुक्तानी प्राप्त भए–नभएको अडियो सूचनामार्फत जानकारी दिने “कोइली” सेवामा दर्ता गर्दा पनि कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ । यो अभियान २०८२ साल माघ महिनाभर मात्र लागू हुनेछ ।
यस प्रकारको अभियानले बैंकिङ सेवाको पहुँच विस्तार गर्न, डिजिटल सेवालाई थप सुदृढ बनाउन तथा बैंकमा प्रत्यक्ष उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनिकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । नगद कारोबारको निर्भरता घटाउँदै सुरक्षित र नगद–रहित बैंकिङ प्रणालीलाई प्रवर्द्धन गर्न समेत यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले देशभर १०३ शाखा कार्यालयमार्फत करिब ८ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले यसअघि नै फोनपे (PhonePe) सँगको सहकार्यमा भारतीय नागरिकहरूले भीमपे, युपिआई, फोनपे, गुगलपे लगायत भारतीय डिजिटल भुक्तानी माध्यम प्रयोग गरी बैंकको क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सक्ने व्यवस्था समेत मिलाइसकेको छ ।


विश्व खबर 




















