काठमाडौं– राष्ट्रिय महिला क्रिकेट टोलीले आसन्न आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणका सबै खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सहभागी टोलीले प्रतिस्पर्धा गर्ने मैदान सार्वजनिक गरेको हो । पहिलोपटक आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट आयोजना गर्ने अवसर पाएको क्यानले त्रिवि क्रिकेट मैदान र मूलपानीको माथिल्लो मैदान छुट्याएको छ ।
ग्लोबल छनोटमा पहिलोपटक सहभागी नेपालले ४ माघमा थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा थाइल्यान्ड मात्र विश्वकप खेलेको राष्ट्र हो । ८ माघमा नेपाल र नेदरल्यान्ड्सबिच दोस्रो खेल हुनेछ । टेस्ट राष्ट्र जिम्बावेविरुद्ध नेपालले १० माघमा खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपाल र स्कटल्यान्डबिच १२ माघमा खेल हुने क्यानले जनाएको छ ।
गत वर्षको ९–२० मेसम्म थाइल्यान्डमा भएको एसियन छनोटमा उपविजेता हुँदै नेपालले पहिलोपटक विश्वकपको ग्लोबल छनोट स्थान पक्का गरेको हो । छनोटमा थाइल्यान्ड विजेता हुँदै लगातार दोस्रोपटक ग्लोबल छनोटमा स्थान सुरक्षित ग¥यो ।
ग्लोबल छनोट दुई समूह विभाजित छ । समूह ‘ए’मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । समूह ‘बी’मा आयोजक नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बावे छन् । समूह चरणबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सका शीर्ष चार राष्ट्रले विश्वकपको टिकट पक्का गर्नेछन् ।
इन्दुको कप्तानीमा नेपाली टोली
क्यानले गत आइतबार नेपाली टोली घोषणा गरेको थियो । इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा हुँदा तीनजना पूर्वखेलाडीले पुनरागमन गरेका थिए ।
नेपाली महिला टोलीकै पहिलो पुस्ताका खेलाडी सीता रानामगरसँगै काजल श्रेष्ठ र सोनु विष्टले स्थान सुरक्षित गरे । घोषित टोलीमा पूर्वकप्तान रुविना क्षेत्री र सीता सबैभन्दा सिनियर खेलाडी हुन् । सीताले नेपालबाट ६३ टी–२० आईमा ९६५ रन बनाएकी छिन् । विकेटकिपर ब्याट्सम्यानका रूपमा पुनरागमन गरेकी काजलले सन् २०२४ को २३ जुलाईपछि स्थान बनाएकी हुन् ।
उनले अन्तिमपटक गत वर्ष भारतविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन् । सोनु भने टोलीमा अलराउन्डर भूमिका छिन् । उनले अहिलेसम्म नेपालबाट सात टी–२० आईमा सहभागिता जनाएकी छिन् ।
टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोले पाएकी छिन् । नियमित खेलाडीहरू पूर्वकप्तान रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का तथा कविता जोशीले पनि ग्लोबल छनोटमा स्थान पक्का गरेका छन् । कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, राजमती ऐरी र मनीषा उपाध्यायसहितको टोली घोषणा क्यानले गरेको हो ।
आइसिसीले ग्लोबल छनोट प्रतियोगिताअघि सहभागी १० वटै राष्ट्रलाई अभ्यास खेल मिलाएको छ । आयोजक नेपालले अमेरिका, स्कटल्यान्ड र जिम्बावेसँग अभ्यास खेल खेल्नेछ ।
२३ पुसमा नेपालले अमेरिकासँग अभ्यास खेल खेलेको थियो । जसमा अमेरिकाले नेपालमाथि आठ विकेटको जित निकालेको थियो ।
नेपालले दोस्रो अभ्यास खेल शुक्रबार खेल्नेछ । नेपालले स्कटल्यान्डसँग मूलपानीको माथिल्लो मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
त्यसपछि आगामी आइतबार टेस्ट राष्ट्र जिम्बावेविरुद्ध खेल्ने कार्यक्रम रहेको छ ।
आइसिसीले विश्वकप प्रतियोगितामा सहभागी हुने टोलीबिच अभ्यास खेल राख्ने गर्छ । जसमा टोलीहरूले आ–आफ्ना कमजोरी सच्याउने अवसर पाउनेछन् ।


विश्व खबर 



















