काठमाडौं– राज्यको बहुप्रचारित स्वास्थ्य बिमा कार्यक्रम गम्भीर संकटमा फसेको छ।
लामो समयदेखि बिमा दाबी भुक्तानी रोकिँदा देशभरका अस्पतालहरू आर्थिक दबाबमा परेका छन्। परिणामतः माघ १ गतेदेखि स्वास्थ्य बिमा अन्तर्गतको उपचार सेवा बन्द गर्ने तयारीमा अस्पतालहरू पुगेका छन्।
स्वास्थ्य बिमा बोर्डले महिनौँदेखि भुक्तानी नगर्दा सरकारी तथा निजी अस्पतालहरू सञ्चालनमै प्रश्न उठ्न थालेको छ। औषधि खरिददेखि स्वास्थ्यकर्मीको तलबसम्म धान्न नसक्ने अवस्थामा पुगेको भन्दै अस्पताल सञ्चालकहरूले बिमा सेवा निरन्तरता दिन नसक्ने चेतावनी दिएका छन्।
अस्पतालहरूका अनुसार करोडौँ रुपैयाँ बराबरको दाबी रकम अल्झिएको छ। “बिमा कार्यक्रम सेवामुखी हो, तर राज्यले दायित्व नबहँदा हामी घाटामा जान बाध्य भयौँ,” एक अस्पताल प्रमुखले भने, “अब पनि नसुन्ने हो भने सेवा रोक्नुको विकल्प छैन।”
कार्यक्रम चरमराएसँगै बिमित नागरिकको चिन्ता बढेको छ। कार्ड भए पनि उपचार नपाउने अवस्था सिर्जना हुनसक्ने भन्दै सर्वसाधारण आक्रोशित छन्। विशेषगरी ग्रामीण तथा विपन्न वर्ग प्रत्यक्ष मारमा पर्ने जोखिम देखिएको छ।
यता स्वास्थ्य बिमा बोर्ड भने समस्या समाधानको प्रक्रिया अघि बढेको दाबी गर्छ। तर स्पष्ट समयसीमा र विश्वसनीय कार्ययोजना सार्वजनिक नहुँदा अस्पतालहरूको असन्तोष झन् चुलिँदो छ।
तत्काल निकास नखोजिए माघ १ पछि स्वास्थ्य बिमा कार्यक्रम कागजमै सीमित हुने र राज्यको सामाजिक सुरक्षा नीति नै प्रश्नको घेरामा पर्ने स्वास्थ्य क्षेत्रका जानकारहरूको चेतावनी छ।


विश्व खबर 


















