काठमाडौं– ठेकेदारले सेलर मिलमा काम लगाइदिने भन्दै भारतको हरियाणा करनाल पुर्याएका सर्लाहीका सातजनामध्ये पाँच मजदुरलाई बन्धक बनाइएको परिवारजनको आरोप छ ।
सिराहाको कल्याणपुर नगरपालिका– ४ जमुवा टोलका ४६ वर्षीय राम सदा, वडा नम्बर ५ का २५ वर्षीय रञ्जित सदा, ३३ वर्षीय सिकिन्दर भनिने इन्दल सदा, ४३ वर्षीय उपेन्द्र सदा र वडा नम्बर ८ बड्कीटोलका ३५ वर्षीय रामकुमार पासवानलाई बन्धक बनाएर भारी बोक्ने काममा जोताइरहेको पीडित परिवारले बताएका छन् ।
बस्तीका करिब २५ वर्षीय गणेश सदालाई भने उतै बेपत्ता बनाइएको उनकी श्रीमती उर्मिलादेवी सदाले बताइन् । ‘पछिल्लो चार महिनादेखि न श्रीमान्सँग फोनमा कुरा भएको छ न त एक रुपैयाँ पठाएका छन्,’ उनले भनिन् ।
सुखीपुर नगरपालिका– ९ मोहनपुर वैसखा गाउँका श्रीदेव भनिने देव यादव र उनका सहयोगी धनुषाको सबैला पटेर्वा घर भई गोलबजार बस्दै आएका बसिर मियाँले करनालको सेलर मिलमा पाँचजनालाई बन्धक बनाएर काम गराइरहेको महिना दिनअघि भागेर घर फर्किएका ३३ वर्षीय ब्रह्म मुखियाले बताए । ‘२५ किलोदेखि ७० किलोसम्म धान, चामल, कनिका प्याक गरिएको गह्रौं बोरा ठूल्ठूला ट्रकमा लोड अनलोड गर्नुपथ्र्यो,’ उनले भने ‘त्यति गह्रौ काम गराएर खानामा सोयाविन र आलुको झोल र भातबाहेक केही दिँदैनथे ।’ काम गर्न नसक्दा कोठामा थुनेर निरन्तर कुटपिट गर्ने उनले बताए । ‘ठेकेदार र उनका सहयोगी घुम्न बजारतिर गएको मौका छोपेर महिना दिन अघि भागेर घर फर्किएँ,’ उनले भने ।
करनालबाट फर्किएर मुसहर बस्तीस्थित छोरीको घरमा बसिरहेका करिब ५१ वर्षीय सिटहु सदाले आफूहरूलाई दिनरात काममा लगाउने गरेको बताए । ‘समयमा खान, आराम गर्नसमेत दिँदैनथे’ उनले भने ‘खाना, आराम र पारिश्रमिकको कुरा गर्यो भने कोठामा थुनेर निर्घात कुटिहाल्थे ।’
ठेकेदार यादव र उनका सहयोगी मियाँ पछिल्लो दसैँलगत्तै बस्तीमा पुगेका थिए । त्यतिखेर उनले राम्रो कमाइ हुन्छ भन्दै मासिक भारतीय १० हजार रुपैयाँ तलब दिनेगरी मुसहर बस्तीका ब्रह्म, इन्दल, उपेन्द्र, रंजित, गणेश, बड्की टोलका रामकुमार र जमुवाका रामलाई भारत लगेका थिए । ‘गाउँबाट लगिएकामध्ये ब्रहम भागेर घर फर्किएको र गणेशबाहेक पाँचजनालाई बन्धक बनाएर काममा जोताइरहेको थाहा पाएका छौँ,’ उनले भने ‘चार महिनासम्म परिवारसँग दोहोरो कुराकानी भएको छैन ।’ उनका अनुसार ठेकेदार र उनका सहयोगी सम्पर्कविहीन भएका छन् ।
कल्याणपुर– ५ का वडाध्यक्ष कुलदीप यादवले आफ्नो वडा क्षेत्रको दलित बस्तीबाट लगिएका मजदुरहरूलाई परिवारसँग सम्पर्कसमेत गर्न नदिई बन्धक बनाएर काममा लगाइरहेको भनेर आफूले पनि थाहा पाएको बताए । ‘मजदुरी गर्न भारत लगिएका दलित समुदायका मजदूरहरूलाई बन्धक बनाएर काममा लगाइएको हो भने तत्काल सम्बन्धित निकायले अनुसन्धान थालेर ठेकेदाराई पक्राउ गरी मानव बेचविखनको मुद्दा चलाउनुपर्छ,’ उनले भने ।
राष्ट्रिय मुसहर संघका केन्द्रीय सदस्य महेन्द्र सदाका अनुसार पीडित परिवार उजुरी लिएर सोमबार जिल्ला प्रहरी कार्यालय सिरमहा पुगेका थिए । तर, कार्यालय समय घर्किएकाले फर्किएको उनले बताए । सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले पीडित परिवारलाई जाहेरी आएपछि अनुसन्धान अगाडि बढ्ने बताए ।
बाबु बित्दा छोरा नफर्केपछि किरियामा नाति
कमाएर घरपरिवारलाई पाल्ने सोचसहित गाउँका साथीहरूसँग करनाल गएका गणेश नफर्किएपछि हजुरबुवाको किरिया नातीले गरिरहेका छन् । गणेशका ६० वर्षीय बुबा नन्दलाल सदाको १६ पुसमा निधन भएको थियो । नन्दलालका जेठा छोरा छेकुवा सदा वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन् । १० वर्षीय नाति अनिसले दागबत्ती दिएर किरियामा बसेको स्थानीयविपरीत सदाले बताए । ‘देवरलाई ठेकेदारले लिएर गए, अहिलेसम्म फोन सम्पर्क छैन,’ छेकुवाकी श्रीमती सरितादेवीले भनिन् ‘श्रीमान् खाडीमा छन्, हजुरबाको किरियामा नाबालक छोरालाई राखेकी छु ।’


विश्व खबर 

















