images
images
  • मधेश प्रदेशका उपसचिव र शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा, यस्तो छ कारण

    काठमाडौं– मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका ९ मन्त्रालयसहित १८ वटा कार्यालयमा गरेको छडके अनुगमनमा दुई उपसचिव, ४१ शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा परेका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालय मधेश प्रदेशका निमित प्रमुख सचिव राम कुमार महतोको निर्देशनमा मङ्गलबार र बुधबार कर्मचारीको उपस्थिति र पोषाकको छड्के निरीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालय जनकपुरधामले जनाएको छ ।

    पुस १ गते गरिएको निरीक्षणमा ४८ जना र पुस २ गते गरिएको निरीक्षणमा २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका हुन् । प्रदेश सरकारका मन्त्रालयहरु तथा मातहतका निर्देशनालय, कार्यालयमा कर्मचारीहरू जानकारी बिना अनुपस्थित रहने, सेवाग्राहीको सेवा प्रवाहमा ढिला सुस्ती गर्ने जनगुनासो बढेपछि टोलि परिचालन गरेर छडके निरीक्षण गर्नु परेको निमित प्रमुख सचिव महतोले बताए ।

    कारबाही पर्नेमा खेलकुद तथा समाज कल्याण मन्त्रालयका नौ जना, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका चार जना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तीन जना, शिक्षा तथा संस्कृति मन्त्रालयका पाँच जना, गृह सञ्चार तथा कानुन मन्त्रालयका एक जना, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका आठ जना, वन तथा वतावरण मन्त्रालयका ६ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयका पाँच जना, उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयका तीन जना गरी ४४ जना कर्मचारी तथा प्रदेश मातहतका अन्य कार्यालयका २८ जना कर्मचारी रहेका छन् ।

    कारबाहीमा परेकामध्ये पुरुष कर्मचारी ५५ जना तथा महिला कर्मचारी १७ जना रहेका छन् । कारबाहीमा उपसचिव दुई जना, शाखा अधिकृत ४१ जना, नायब सुब्बा १६ जना, खरिदार चार जना, सवारी चालक तीन जना र कार्यालय सहयोगी ६ जना रहेका छन् ।

    पूर्व स्वीकृति बेगर अनुपस्थित रहेका ३४ जना तथा पोषाक नलगाएका ३८ जना कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरी सो जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालय मधेश प्रदेशलाई गराउन सम्बन्धित निकायमा कर्मचारीको विवरणसहित पत्राचार गरिएको निमित प्रमुख सचिव महतोले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images