काठमाडौं– काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले यो नयाँ व्यवस्था लागू गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल बस) जस्तै जथाभावी सडक किनारमै रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा विशेषगरी ‘पिक आवर’मा सडकमा जाम हुने गरेको छ ।
कार्यलयका अनुसार राजधानीका सडकमा भिडभाड बढिरहेको छ, त्यसमा पनि लामो दुरीका गाडीहरूले नियमविपरीत सडकमा रोकेर यात्रु चढाउने–झार्ने गर्दा जाम अझै चर्काएको छ । त्यसैले अब सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू भएको हो ।
यसैगरी लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजत पत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको छ ।
ट्राफिक नियम उल्लंघनकर्तालाई सचेतना कक्षा
ट्राफिक प्रहरीले रातो बत्ती उल्लंघन गर्ने, जथाभाबी लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य रूपमा सचेतना कक्षा दिन थालिएको जनाएको छ ।
चालकमा जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले यी कक्षालाई अझ प्रभावकारी बनाउन पनि योजना बनाएको जनाइएको छ ।
यसबाहेक सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि सञ्चालनमा ल्याइएको छ । यस सेवाको प्रयोग गर्न मोबाइल एप प्रयोग गर्दै आएका चालक तथा सेवाग्राहीले पहिले ‘इन्स्टल’ गरेको एप्लिकेसनलाई एक पटक ‘अनइन्स्टल’ गरी पुनस् इन्स्टल गर्नुपर्ने प्रहरीले जनाएको छ ।
नयाँ प्रणालीमार्फत घरमै बसेर कक्षा लिन सकिने भएकाले यसले सेवाग्राहीलाई थप सहजता दिने अपेक्षा गरिएको छ ।























