काठमाडौँ – मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले जेनजी प्रदर्शनका क्रममा राज्यको तर्फबाट निकै बर्बरता तथा दमन भएको र २३ भदौमा सरकारको तर्फबाट गरिएको दमन र हत्याकै परिणाम २४ भदौको घटना भएको निष्कर्ष निकालेको छ ।
विश्वभरमा मानवअधिकारको अवस्थाबारे अनुगमन तथा मानवअधिकार उल्लंघनको अनुसन्धान गर्दै आएको ह्युमन राइट्स वाचले तत्कालीन सरकार र सुरक्षा संयन्त्रमाथि अनुसन्धान हुनुपर्ने धारणासमेत सार्वजनिक गरेको छ । २३ भदौमा भएको प्रदर्शनविरुद्ध सुरक्षा बलहरूले अत्यधिक बल प्रयोग गर्दै अन्धाधुन्ध गोली चलाएको जस्तो गम्भीर विषय आफ्नो अनुसन्धानमा भेटिएको ह्युमन राइट्सले उल्लेख गरेको छ ।
दोस्रो दिन अर्थात् २४ भदौमा अघिल्लो दिन सरकारले देखाएको बर्बरताविरुद्ध आक्रोशित नागरिक स्वःस्फूर्त सडकमा आए पनि त्यस दिन भएको आगजनी, तोडफोडजस्ता हिंसात्मक गतिविधिमा भने असम्बन्धित व्यक्तिहरू सक्रिय भएको जनाएको छ ।
परिवर्तित सन्दर्भमा बनेको अन्तरिम सरकार र उक्त सरकारले २३ र २४ भदौको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठन गरेको जाँचबुझ आयोगले पारदर्शी रूपमा कानुन उल्लंघनका घटनामा संलग्नहरूबारे अनुसन्धान गरी कारबाही सुनिश्चित गरे मात्रै आयोग सफल हुन सक्ने तर्क गरेको छ ।
साथै, अन्तरिम सरकारले २३ भदौमा अत्यधिक बल प्रयोग र २४ भदौमा हिंसात्मक तथा कानुनविरुद्धका काममा कसले आदेश दिएका हुन सक्छन् भन्नेबारे पनि अनुसन्धान गर्नुपर्ने बताएको छ । वाचले भनेको छ, ‘२ दिनसम्मको हिंसात्मक गतिविधिमा सुरक्षा बलको भूमिकाबारे विश्वसनीय अनुसन्धान गर्न आवश्यक छ ।’
ह्युमन राइट्स वाच कुनै सरकारी संस्था नभए पनि मानवअधिकार उल्लंघनको विषयमा यस संस्थाले गर्ने अध्ययन तथा अनुसन्धान निकै विश्वासिलो र भरपर्दो मानिन्छ । अधिकांश देशका सरकारहरू पनि उसको प्रतिवेदनहरूबारे निकै गम्भीर हुने गर्छन् ।
त्यस्तै, ह्युमन राइट्स वाचकी एसिया सहनिर्देशक मीनाक्षी गांगुलीले उक्त घटनामा जोसुकै दोषी देखिए पनि उनीहरूलाई जबाफदेही बनाउनुपर्ने र कानुन उल्लंघनका जिम्मेवार व्यक्तिलाई कारबाहीबाट उन्मुक्ति दिन नहुने बताएकी छिन् ।
‘नेपालमा भएको हिंसामा मानवअधिकारको गम्भीर उल्लंघन भएको छ । सुरक्षा बल वा राजनीतिक पात्र जोसुकै भए पनि जबाफदेही बनाइनुपर्छ,’ गांगुलीले भनिन्, ‘स्वतन्त्र र पारदर्शी अनुसन्धानसहित सरकारले कानुन उल्लंघनका जिम्मेवार कसैलाई पनि उन्मुक्ति नदिने सुनिश्चित गर्नुपर्छ ।’
उनले नेपालमा अनुसन्धान प्रतिवेदन दबाउने र कारबाहीमाथि तगारो बन्ने सरकारको दशकौँ पुरानो प्रवृत्ति उल्टाउन र जबाफदेहिता स्थापना गर्दै सुरक्षा क्षेत्रलाई सुधार गर्न अत्यावश्यक रहेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
कफ्र्युको ५ मिनेटपछि सुरु भएको थियो ३ घन्टा लामो अन्धाधुन्ध गोली प्रहार
अवस्था काबुबाहिर गएपछि २३ भदौमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिउँसो करिब साढे १२ बजेतिर तनावग्रस्त क्षेत्रमा कफ्र्यु घोषणा गरेको थियो भने त्यसको ५ मिनेटमै सुरक्षाकर्मीले अधिक बल प्रयोग गर्दै अन्धाधुन्ध गोली प्रहार सुरु गरेको प्रतिवेदनमा उल्लेख छ ।
संसद् परिसरको मुख्य गेटअगाडि नै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको र संसद् परिसरभित्र पर्खालबाट ४० मिटर टाढा रहेका एक सुरक्षाकर्मीले पनि प्रदर्शनकारीमाथि गोली प्रहार गरिरहेको दृश्य सामाजिक सञ्जालमा पनि देखिएका थिए । प्रहरीले सुरुमै मेटल बुलेट प्रहार गरेको र त्यसमा पनि अन्धाधुन्ध जो–कोहीमाथि पनि गोली हानेका दृश्यहरू अध्ययन गरेर त्यसकै आधारमा निष्कर्ष निकालिएको ह्युमन राइट्सले जनाएको छ ।
ह्युमन राइट्स वाचले अनुसन्धानकर्ता, प्रत्यक्षदर्शी तथा घाइतेहरूसँग कुरा गर्दै ‘झडप भइरहेको ठाँउबाट भाग्दै गरेकाहरूमाथि पनि गोली प्रहार भएको र उनीहरूका शरीरको पछाडि भागमा गोली लागेको’ निष्कर्ष निकालेको छ । त्यस दिन प्राणघातक बल प्रयोग गर्दै प्रहरीले टाउको, छाती तथा पेटमा गोली प्रहार गरेको र सुरक्षा संयन्त्रले प्रदर्शनकारीको संख्यालाई कम आँकेको र पूर्वसूचना तथा तयारीमा चुकेकै कारण त्यसपछिका घटना भएको हुन सक्ने वाचले जनाएको छ ।
२३ र २४ भदौका घटना अनुसन्धान गर्न गठन गरिएको आयोगले सुरक्षा बलहरूको भूमिका, घुसपैठका विश्वसनीय आरोप तथा हिंसा भड्काउने प्रकारका आपराधिक गतिविधिबारे अनुसन्धान गर्नुपर्ने भन्दै २४ भदौमा भएको हिंसात्मक गतिविधिमा संलग्न केहीलाई पक्राउ गरे पनि २३ भदौमा प्रदर्शनकारीहरूमाथि मानवअधिकार उल्लंघन हुने गरी अत्यधिक बल प्रयोग गर्दै गोली प्रहार गरेका प्रहरी अधिकृतहरूमाथि कुनै कारबाही नगरेकामा ह्युमन राइट्सले असन्तुष्टि जनाएको छ ।
२३ भदौको आन्दोलन तत्कालीन सरकारको गलत निर्णयको उपज
तत्कालीन प्रधानमन्त्रीको राजीनामापछि जेनजी समूहहरू ब्याक भए पनि त्यसपछिको अवस्थामा भने पूर्ण रूपमा अपरिचित व्यक्तिहरू हाबी भएको र हिंसात्मक गतिविधि सुरु भएको ह्युमन राइट्सको निष्कर्ष छ । ह्युमन राइट्स वाचले तयार पारेको रिपोर्टमा २४ भदौको घटनामा केही जनआक्रोशका स्वःस्फूर्त अभिव्यक्ति भए पनि हिंसात्मक गतिविधिमा असम्बन्धित व्यक्तिहरू लागेको र ती घटना सुनियोजित रहेको आकलन गरिएको छ ।
२३ भदौको प्रदर्शनमा अधिकांश सहभागी युवा भए पनि २४ भदौको हिंसा तथा आगजनीमा अन्य मानिस पनि संलग्न रहेको वाचले जनाएको छ । २४ भदौका दिन परिचालित विधि र कमान्डिङ हिसाबमै हिंसात्मक गतिविधि भएकोतर्फ पनि वाचले इंगित गरेको छ ।
त्यस दिन अधिकांशको फोनमा ‘निर्दोष बालबालिकाहरूको रगत बगाउने नेताहरूको रगतले मात्रै नेपालमा शान्ति ल्याउन सक्छ’ भनेर म्यासेज आएको थियो । जुन पछि प्रहरीको अनुसन्धानका क्रममा म्याग्दीको एक स्थानीय तहबाट उक्त सन्देश प्रवाह भएको पत्ता लागेको थियो । तर, उक्त स्थानीय तहले भने आफ्नो अकाउन्ट ‘ह्याक’ भएको दाबी गरेको थियो ।
२४ भदौको बिहान १२ः२० बजे थुप्रै मोबाइल प्रयोगकर्ताहरूकोमा उक्त एसएमएस सन्देश आएको थियो । त्यस दिन आगजनी र तोडफोड भएका अधिकांश संरचनाहरू पूर्वनिर्धारित थिए भन्नेतर्फ पनि ह्युमन राइट्स वाचले संकेत गरेको छ । त्यस दिन उपत्यकामा सबैभन्दा पहिले बिहान ११ः३४ बजे नै हरिसिद्धिको प्रहरी चौकीमा आगलागी भइसकेको थियो ।
‘बाइकर ग्याङ’ले सिंहदरबार जलायो
२४ भदौको दिउँसो २ बजे आसपास सर्वोच्च अदालतबाहिर विभिन्न समूह भेला हुन थालेको र २ः३० बजेसम्म केही व्यक्ति अदालत भवनभित्र प्रवेश गरेर तोडफोड सुरु गरेको ह्युमन राइट्स वाचले जनाएको छ । उनीहरूले दराजमा रहेका फाइलहरू निकालेर पार्किङ क्षेत्रमा लगेर जलाएको र त्यसको केहीबेरमै सर्वोच्च अदालत भवनमा आगजनी भएको थियो ।
त्यसपछि नजिकै रहेको महान्यायाधिवक्ताको कार्यालयमा पनि त्यही समूहले आक्रमण गरेको थियो । रिपोर्टमा उल्लेख भएअनुसार त्यस दिन सिंहदरबार गेटबाहिर १० देखि १५ जनाले बन्दुक बोकेका थिए । गेटबाहिर केहीबेर होहल्ला गरेको हतियारधारी उक्त समूह सिंहदरबार परिसर प्रवेश गरेको थियो । साथै, ह्युमन राइट्सले खुलाएको तथ्यअनुसार सिंहदरबार जलाउन ‘टिओबी’ समूह सक्रिय भएको देखिन्छ ।
प्रत्यक्षदर्शीहरूको भनाइका आधारमा वाचले सिंहदरबारका आगजनीकर्तामध्ये खुकुरी र फलामे रड बोकेका ‘बाइकर ग्याङ’ का मानिसहरू सामेल भएको र ती व्यक्तिहरूले आफ्ना मोटरसाइकलबाट इन्धन निकालेको र त्यसलाई विष्फोटकका रूपमा प्रयोग गरी मुख्य भवनमा आगजनी गरेको बताएको छ ।
बालुवाटारमा आगो लगाउनेले नै शीतलनिवास जलाए
रिपोर्टमा उल्लेख भएअनुसार २४ भदौ दिउँसो ४ः२५ सम्ममा शीतल निवासस्थित राष्ट्रपति भवनमा आगजनी सुरु भइसकेको थियो । त्यस आक्रमणमा सहभागी भएका तथा जलिरहेको भवनमा दुर्घटनावश घाइते भएका एक व्यक्तिका अनुसार गेटमा सानो संख्यामा तैनाथ सैनिकहरूले उनीहरूलाई राष्ट्रपति भवन प्रवेश गर्नबाट रोक्न सकेका थिएनन् ।
यिनै व्यक्ति केहीबेरअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आगजनी गर्न गएको समूहमा पनि सामेल थिए । उनले बताएअनुसार बालुवाटारमा तैनाथ प्रहरीले भनेका थिए– ‘हामी तपाईंहरूमाथि गोली प्रहार गर्नेछैनौँ ।’ त्यसको १०–१५ मिनेटपछि प्रहरीले गेट खोलेर उनीहरूलाई प्रवेश दिएका थिए ।























