काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने अधिकारको सुनिश्चितताको लागि सैधान्तिक र प्राविधिक प्रस्ताव’ विषयक छलफल कार्यक्रम आयोजना गरेको छ ।
पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको सभापतित्वमा हुने उक्त कार्यक्रममा नेपाल पोलिसी इन्स्टिच्युटले बिदेशी नेपालीको मतदान अधिकारसम्बन्धी प्रस्ताव र नीतिगत खाका प्रस्तुत गर्नेछ ।
कार्यक्रम दिउँसो १२ः३० बजे काठमाडौंको लैनचौरस्थित होटल एम्बेस्डरमा हुँदैछ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, छलफलमा कानुनविद्, प्राविधिक विज्ञ, नीति विश्लेषक र विभिन्न देशमा रहेका नेपाली समुदायका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको उद्देश्य संविधानमा निहित नागरिकको मौलिक अधिकारका रूपमा बिदेशी नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा प्राविधिक उपायहरूबारे सहमति र सुझाव संकलन गर्ने रहेको प्रवक्ता झाले बताए ।
उनका अनुसार, छलफलका निष्कर्षहरूलाई आगामी संसद् सत्रमा नीति निर्माणका लागि औपचारिक प्रस्तावका रूपमा लैजाने तयारी गरिएको छ ।






















