images
images
  • जेन्जीको माग पूरा नभए निर्वाचन गर्न नदिने सुदन गुरुङको चेतावनी

    काठमाडौं– हामी नेपाल नामक संस्थाका संयोजक सुधन गुरुङले ‘जेनजी’ले राखेका माग पूरा नभई निर्वाचन हुन नसक्ने बताएका छन् ।

    बिहीबार (कात्तिक २७) बिहान काठमाडौंको लैनचौरस्थित खड्का ल्यान्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा निर्मित संरचना हटाउने प्रयोजनका निम्ति त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् ।

    केहीबाहेकका सबै जेनजी एक ठाउँमा रहेका उनले उल्लेख गरे । उनले जेनजीका माग पूरा गरिनुपर्नेमा जोड दिए ।

    जेनजीका माग पूरा नभए अर्को आन्दोलन हुने उनले चेतावनी दिए । यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने उनले बताए ।

    “समग्र हामी जेनजीहरूको टिम एक ठाउँमा छ । एकदुईजना तलमाथि हुनुहुन्छ, उहाँहरूलाई नै बोलाउँछौँ,” उनले भने, “माग पूरा नभईकन कसरी चुनाव हुन्छ ? यो सबै कुरा गृहमन्त्रीज्यूले जिम्मा लिनुपर्छ ।”

    जेनजीका हरेक वार्तामा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास उनले दिलाएका भए पनि त्यसानुसार काम नभएको गुरुङको भनाइ थियो ।

    “उहाँ (ओमप्रकाश अर्याल) हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । राष्ट्रपति कार्यालयमा संविधानविद् भनेर मलाई चिनाइएको हो । माग पूरा हुन्छ/हुँदैन उहाँहरूलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे,” उनले भने, “यो सबै भएन भने धोका दिनुभएको हो हामीलाई । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।”

    आफूहरूका माग पूरा नभए गृहमन्त्रीले धोका दिएको ठहर हुने उनले बताए । गृहमन्त्रीले जेनजीका माग पूरा गर्न छाडेर निर्वाचनको रटान लगाएको उनको टिप्पणी छ । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    images
    images