काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) निकट समूहले नयाँ राजनीतिक दल खोल्ने तयारी गरेको छ ।
‘उज्यालो नेपाल’ नाममा दल खोल्ने प्रारम्भिक तयारी हुँदै गर्दा ऊर्जामन्त्री कुलमान घिसिङ, सुमना श्रेष्ठ र सुदन गुरुङसँग सहमति नमिलेपछि बालेन सचिवालयकै सदस्य सुदीप ढकालको संयोजकत्वमा ‘देश विकास पार्टी’ दर्ता प्रक्रियामा रहेको स्रोतले जनाएको छ ।
बालेन टिमका एक सदस्यका अनुसार, कुलमानसँग पार्टी नाम र संरचना विषयमा मतभेद भएपछि उनीहरूको टोली ब्याक भएको हो ।
उनका अनुसार घिसिङले लचिलो व्यवहार गर्ने भने पनि अन्तिममा एकल निर्णय गरेका थिए ।
नयाँ दल ‘देश विकास पार्टी’ को चुनाव चिह्न ‘लौरो’ प्रस्ताव गरिएको छ, यद्यपि यो अहिले ‘हामी नेपाली पार्टी’सँग दर्ता छ ।
बालेन सचिवालयका सदस्यहरूले पार्टी निर्माणको तयारी तीव्र भएको र साँझसम्म ठोस निर्णय आउन सक्ने बताएका छन् ।
स्रोतका अनुसार बालेनले स्वयं चुनाव नलड्ने भए पनि जेन्जी आन्दोलनको मर्म बोकेको नयाँ दललाई समर्थन गर्ने तयारीमा छन् ।























