काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता प्रक्रियाको प्रगतिबारे सिंहदरबारमा सरोकारवालासँग समीक्षा बैठक गरेकी छन् ।
अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल, त्रिवि उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी, रजिस्ट्रार प्रा. केदार रिजालसहित मुख्य सचिव एकनारायण अर्याल र खोजबिन समितिका पदाधिकारी सहभागी थिए ।
प्रधानमन्त्री कार्कीले जग्गा फिर्ता र दोषीमाथि कारबाहीको प्रगतिबारे जानकारी माग्दै प्रतिवेदन कार्यान्वयनमा ढिलाइ किन भयो भन्ने जिज्ञासा राखिन् ।
गृहमन्त्री अर्यालले किर्ते गरी हडपिएका जग्गा सम्बन्धी प्रत्येक घटना छुट्टै मुद्दाका रूपमा दर्ता गर्न आग्रह गरे भने शिक्षामन्त्री पुनले तत्काल कार्यदल गठन गरी काम अघि बढाउन सुझाव दिए ।
प्रधानमन्त्री कार्कीले बल प्रयोग गरी त्रिविको जग्गा कब्जा गर्ने वा बेचबिखन गर्ने प्रवृत्ति तुरुन्त रोक्न र दोषीलाई कठघरामा उभ्याउन निर्देशन दिइन् ।























