काठमाडौं– ऊर्जा मन्त्री कुलमान घिसिङले मंगलबार बिहान आफ्नै निवासमा सुमना श्रेष्ठ र जेन्जी प्रतिनिधि सुदन गुरुङसँग नयाँ दल गठनबारे छलफल गरेका छन् ।
घिसिङकै नेतृत्वमा दल दर्ता गर्ने तयारी हुँदै आएको भए पनि मन्त्री पदमा रहेकाले उनले फागुन २१ गतेको निर्वाचनअघि मात्रै दलमा सहभागी हुने बताएका थिए ।
सोहीअनुसार पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय संयोजक रहनेगरी ‘उज्यालो नेपाल’ नाममा दल दर्ता प्रक्रिया अघि बढाइएको थियो ।
तर, सुमना श्रेष्ठले सामूहिक नेतृत्वको प्रस्ताव गरेकी थिइन्, जुन स्वीकार नभएपछि उनले सोमबार दल दर्ता प्रक्रियाबाट बाहिरिने घोषणा गरेकी थिइन् ।
त्यसपछि घिसिङले पुनः श्रेष्ठ र गुरुङलाई भेटेर छलफल गरेका हुन् ।
घिसिङ निकट जीतराम वाइवाका अनुसार, मन्त्रीले अब दल दर्ता स्वयं गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय बाँकी छ ।
सुदन गुरुङले भने नयाँ दलमा समावेश गरिनुपर्ने आफ्ना ६ प्रतिनिधिको नाम पहिल्यै बुझाइसकेका छन् ।
निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने समयसीमा तोकेको छ ।























