काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानले नेता घनश्याम भुसाललाई संयोजकमा चयन गरेको छ ।
शनिबार बसेको अभियानको केन्द्रीय कमिटीको भर्चुअल बैठकले सर्वसम्मत रूपमा भुसाललाई संयोजकको जिम्मेवारी दिएको नेता दामोदर अर्यालले जानकारी दिएका छन् ।
बैठकमा ६७ जना केन्द्रीय सदस्यहरूको सहभागिता थियो ।
बैठकलाई सम्बोधन गर्दै भुसालले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको दायित्वबारे धारणा व्यक्त गरेका थिए ।
साथै, बैठकले आगामी मङ्सिर महिनामा आयोजना हुने राष्ट्रिय भेलाको तयारीबारे समेत विस्तृत छलफल गरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका केही नेताहरू माओवादी केन्द्रसँगको एकता प्रक्रियामा सक्रिय रहेका बेला भुसाल, झाँक्रीलगायतका नेताहरू भने त्यसमा सहभागी भएका थिएनन् ।
हाल पार्टीको बहुमत पक्ष नयाँ नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेको अवस्थामा भुसाल नेतृत्वको समूह पुरानै पार्टी पुनर्गठनमा लागेको छ भने रामकुमारी झाँक्रीसहितका केही नेताहरू एमाले प्रवेशको तयारीमा रहेको बुझिएको छ ।























