images
images
  • रूसले युक्रेनमा प्रहार गर्‍यो ५०३ मिसाइल, ११ जनाको मृत्यु र विद्युत् आपूर्ति बन्द

    काठमाडौं– रुसले युक्रेनमा अर्को भीषण आक्रमण गरेको छ ।

    आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

    आक्रमणपश्चात् युक्रेनका थप धेरै क्षेत्र अन्धकारमय बनेका छन् ।

    सयौँ रुसी ड्रोनका साथै हावा, जमिन र समुद्रबाट प्रक्षेपण गरिएका मिसाइलले महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाएको युक्रेनको सेनाले शनिबार बिहान (स्थानीय समय) जनाएको छ ।

    युक्रेनको वायुसेनाले रुसी सेनाद्वारा रातभर ५०३ मिसाइल प्रक्षेपण गरिएका पत्ता लगाएको थियो ।

    त्यसमा ४५ मिसाइल र ४५८ ड्रोन समावेश थिए ।

    तीमध्ये अधिकांश मिसाइल प्रतिरक्षालाई छल्दै पार भएका थिए ।

    जम्मा नौवटा मात्र सफलतापूर्वक खसालिएका थिए ।

    ४०६ ड्रोन रोक्न युक्रेनी वायुसेना सफल भएको दाबी गरिएको छ ।

    रुसी आक्रमण मुख्यतया ग्यास र विद्युत् पूर्वाधारमा केन्द्रित थिए ।

    सोही कारण धेरै क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ ।

    जापोरिझ्झिया क्षेत्रका विभिन्न जिल्लामा आवासीय भवनसहित अरू लक्ष्यमा प्रहार गरिँदा तीनको मृत्यु र ६ जना घाइते भएका गभर्नर इभान फेडोरोभले जानकारी दिए ।

    स्थानीय अधिकारीहरूका अनुसार, डोनेट्स्कका दुई जिल्लामा थप दुईजनाको मृत्यु भएको छ ।

    खेरसनका गभर्नर ओलेक्सान्द्र प्रोकुदिनका अनुसार, धेरै अग्ला भवन, निजी घर र सवारीसाधनमा आक्रमणबाट थप दुईको मृत्यु र १० जना घाइते भएका छन् ।

    करिब चार वर्ष लामो युद्ध अन्त्य गर्न खोजिने कूटनीतिक प्रयास क्रमशः कमजोर हुँदै गएको सन्दर्भमा यी घटनाको भएको अलजजिराले जनाएको छ ।

    युक्रेनमा कठोर जाडो नजिकिँदै गर्दा रुसको यो हमला युद्धको अर्को रणनीतिक अभियानको हिस्सा भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images