
काठमाडौं– ४६ दिनपछि नागरिक उन्मुक्ति पार्टी पुनः सत्ता पक्षको बेन्चमा फर्किएको छ ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले संसद् सचिवालयलाई पत्र पठाउँदै सत्ता पक्षमै बस्ने आग्रह गरेकी हुन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि असार २० गते पार्टीले संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
तर, श्रेष्ठका अनुसार सांसदहरू प्रतिपक्षमा बस्न इच्छुक नभएकाले पुनः सत्ता पक्षमै फर्किएको हो ।
उनका अनुसार राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिए पनि स्वीकृत नभएकाले सरकारको सुविधा (तलबभत्ता) लिइरहेका छन् ।
यस्तो अवस्थामा पार्टीले पनि सत्ता पक्षमै बस्ने निर्णय गरेको श्रेष्ठले बताइन् ।
यसअघि लिचिबारी काण्डमा अध्यक्ष श्रेष्ठको नाम मुछिएपछि संरक्षक रेशम चौधरी नेतृत्वको समूहले उनलाई पदमुक्त गर्दै लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो ।
तर, निर्वाचन आयोगले श्रेष्ठलाई नै वैधानिक अध्यक्ष मान्यता दिएपछि पार्टीभित्रको विवाद अझै टड्कारो छ ।
पार्टीभित्र सहमति र छलफल बिना नै श्रेष्ठले सरकारलाई समर्थन कायम गर्ने निर्णय गरेको भन्दै असन्तोष बढेको छ ।
प्रतिक्रिया दिनुहोस्