images
images
  • नेदरल्यान्ड्सविरुद्ध नेपालले लियो बदला

    ओपनर कुशल भुर्तेलको अर्धशतक सहयोगमा स्कटल्यान्ड जारी टि–२० आई त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।

    जारी सिरिजमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको दिन नेदरल्यान्ड्सले भने दोस्रो हार व्यहोरेको हो।पहिलो खेलमा नेदरल्यान्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा त्यो हारको बदला समेत लिएको छ।

    सिरिजको अन्तिम खेलमा नेपालले शुक्रबार घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्नेछ। पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको थियो।बिहिबार नेदरल्यान्ड्सले दिएको १ सय ७५ रनको लक्ष्य नेपालले २ बल अगावै चार विकेटको क्षतिमा भेट्टायो।

    दोस्रो विकेटका लागि ओपनर कुशल भुर्तेल र भिम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। १६ बलमा २ चौका र १ छक्का सहयोगमा २७ रन बनाएका भिम सार्की भान डे मेर्वेको बलमा बोल्ड आउट भए।

    चौथो विकेटका लागि ओपनर कुशल र आरिफ शेखले ४४ रनको साझेदारी गरेपछि नेपाल जित उन्मुख भएको थियो। ६५ रन बनाएका कुशल १६ औँ ओभरको चौथो बलमा क्याच आउट हुन पुगे। कुशलले ५१ बलमा ६ चौका सहयोगमा ६५ रनको सर्वाधिक योगदान दिए।

    २३ बलमा ३ चौका र २ छक्का सहयोगमा ३९ रन बनाएका आरिफ शेख रिटायर्ड हर्ट भए।
    दिपेन्द्र सिंह ऐरि १६ र लोकेश बम १२ रनमा नटआउट रहे।

    कप्तान रोहित पौडेल ५ रन बनाउँदा एलबीडब्लु धरापमा परे। अर्का ओपनर आशिफ शेख ७ रनमा एलबीडब्लु धरापमा पर्दै पेभेलियन फर्के। त्यसअघि स्कटल्यान्डको टिटवुड ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार पारेको थियो।

    सुरुवातबाट नै दबाबमा परेको डच टोली एक समय ६ ओभरमा ४–४५ को अवस्थामा थियो। पाचौँ विकेटका लागि माइकल लेविट र सकिव जुल्फिकरले ६३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ्स उकासेका थिए।

    ओपनर माइकल लेविट ८६ रन बनाउँदा क्याच आउट हुन पुगे। ५३ बलमा ६ चौका र ५ छक्का हानेका माइकल करण केसीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्के।

    रोइलफ भान डेर मेर्वे ३६ र आर्यन दत्त १७ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

    सकिव जुल्फिकर ११ बलमा २ चौका सहयोगमा १४ रन बनाउँदा सन्दीप लामिछानेको बलमा आउट भए। नेपालका लागि करण केसीले दुई विकेट लिए। ललित राजवंशी, दिपेन्द्र सिंह ऐरि, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images