images
images
  • एकैस्थानमा १७ सय बढीले गरे रक्तदान

    चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित महोत्सवमा जिल्लाका सातवटै पालिकाबाट रक्तदाता सहभागी भएका थिए ।

    सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले एक हजार ५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले एक सय ८१ युनिट रगत ‘स्टोर’ गरेका छन् ।

    रक्तदाता दिवसको अवसरमा सोसाइटीले महोत्सव आयोजना गरेको हो । हरेक वर्ष जुन १४ मा अन्तर्राष्ट्रिय रक्तदाता दिवस मनाइन्छ ।

    रक्तदानप्रति अग्रसर हुने सन्देश दिन बृहत् कार्यक्रम आयोजना गरिएको सोसाइटीका चितवन अध्यक्ष तथा मूल समारोह समितिका कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले बताए ।

    रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत सङ्कलन गर्दै राष्ट्रिय रेकर्डसमेत कायम गरेको सोसाइटीका सचिव तथा प्रचार समितिका संयोजक विपिन पाठकले जानकारी दिए ।

    यसअघि लायन्स क्लब अफ काठमाडौंलगायतका संस्थाले २०७४ साल फागुन २५ गते विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले काठमाडौंको टुँडिखेलमा एक हजार ५०० पिन्ट रगत सङ्कलन गरेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images