काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक समीकरण फेरबदलको संकेत दिने गरी डा.शेखर कोइराला समूहले विराटनगरमा कोशी प्रदेशभरिका नेता तथा कार्यकर्ताको गुटगत भेला गरेको छ ।
विशेषत: यो भेला कांग्रेस महामन्त्री गगन थापा कोशी प्रदेशमै उपस्थित रहेको बेला आयोजना गरिएको हो, जसले पार्टीभित्रको शक्ति सन्तुलनबारे विभिन्न प्रश्न उठाइरहेको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा साझा प्यानल बनाएर चुनावमा सहभागी भएका डा.शेखर र गगन थापाबीचको सम्बन्ध १५औं महाधिवेशन नजिकिँदै जाँदा टाढिँदै गएको देखिएको छ ।
पछिल्लो समय गगन थापा कोशी प्रदेशको निरन्तर दौडाहामा सक्रिय रहँदा उक्त क्षेत्र परम्परादेखि डा.शेखरको राजनीतिक प्रभाव क्षेत्र मानिँदै आएको हो ।
थापाको उपस्थिति बढेसँगै कोइराला पक्षका केही नेताहरू गगन समूहसँग नजिकिएको राजनीतिक वृत्तको विश्लेषण छ ।
यसै सन्दर्भमा, डा.शेखर समूहले विराटनगरमा आयोजना गरेको भेलामा महामन्त्री थापा नसमेटिएपछि यो कार्यक्रमलाई गुटगत प्रदर्शनका रूपमा हेरिएको छ ।
पार्टीभित्र नेतृत्व दाबी र आन्तरिक शक्ति सन्तुलनका लागि अग्रसरता देखिएको संकेतस्वरूप यसलाई लिइएको छ ।
महामन्त्री थापा भने सोही दिन सुनसरीको धरानमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी याक्थुङ सङ्घको प्रथम महाधिवेशनको उद्घाटनमा सहभागी थिए ।
कांग्रेसभित्र आगामी महाधिवेशनतर्फ उन्मुख शक्ति पुनर्संयोजनको संकेत दिने यी गतिविधिहरूले संस्थागत एकतालाई कसरी प्रभाव पार्ला भन्ने विषयमा चासो बढेको छ ।























