images
images
  • ३१ औँ पटक सगरमाथा शिखरमा कामीरिता, अर्को विश्व रेकर्ड

    कामीरिता शेर्पाले यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

    मंगलबार बिहान चार बजे शेर्पा ३१ औं पटक सगरमाथा शिखरमा पुगेका सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले जानकारी दिए।

    गत वर्ष कामीरिताले ३० औँपटक सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए। त्यो आफ्नै रेकर्डलाई उनले आज ब्रेक गरेका हुन्। गत वर्ष उनले १० दिनकै फरकमा दुईपटक सगरमाथा आरोहण गरेका थिए।

    उनले ०८१ वैशाख ३० गते २९ औँ र ०८१ जेठ ९ गते ३० औँ पटक आरोहण गरेका थिए।

    कामीरिताले सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमानलाई कामय राखेका छन्।

    ‘एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार १ ३१ औं पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औँ पटकको सफल आरोहणका लागि बधाई। सेभेन समिटसँगको यात्रामा।’

    यसपटक उनी २२ जना भारतीय सैनिकको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए।

    सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए।

    त्यसयता उनी सगरमाथा केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालहरू ४५ पटक उक्लिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस्

    images