मुस्ताङ : हेर्दा टोपी खस्ने सेताम्मे हिमाल, बाह्रैमास हिउँले ढपक्क ढाकिएका अग्ला पहाडहरूलाई पछाडि पार्दै हिउँ बोकेर रफ्तारमा सागर छुन कुदेकी काली, दायाँबायाँ हिमाली मौलिकता, संस्कृति र रहनसहनमा रमाइरहेका मुस्ताङवासी।
यी दृश्य १० वर्षअघिको यथार्थ चित्रण हो । फेदीसम्म हिउँ बग्ने ती हिमाल आजभोलि कालापत्थरमा रूपान्तरण भएपछि काली पनि स्वरूप परिवर्तन गरी उदण्ड र उजाड बनेकी छन्। संसारको सबैभन्दा गहिरो गल्छी बनाएर बग्ने नदीका रूपमासमेत परिचित कालीगण्डकी आजभोलि भने आफ्नै परिचय बिर्सेर मानव बस्ती तथा खेतबारीतर्फ फैलिँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावको सन्देश विश्वलाई दिइरहेकी छन् ।
एक वर्षअघि बारागुङ मुक्तिक्षेत्र- ४, कागबेनी बजारस्थित कागखोलामा आएको गेग्य्रानसहितको लेदोले तटीय क्षेत्रमा ठुलो क्षति पुग्यो । मुक्तिनाथबाट बग्ने कागखोला थुनिएर फुट्दा आएको बाढीले कागबेनीदेखि जोमसोमसम्मको मानव बस्ती तथा खेतीयोग्य जमिनमा वितण्डा मच्चियो।
बाढीका कारण मानवीय क्षति हुन नपाए पनि कागबेनीका ३१ वटा घर र होटल जोमसोम कोरोला सडकको पक्की पुल, झोलुङ्गे पुल, दुई वटा गाडी र तीन वटा विद्युतीय पोल पूर्ण रूपमा क्षतिग्रस्त बने। कालीगण्डकीको तटीय क्षेत्र उजाड भूमिमा परिणत भयो, जुन दृश्य मुस्ताङवासीले कहिल्यै देखेका थिएनन् । कालीगण्डकी नदी संरक्षणमा लामो समयदेखि काम गर्नुभएका स्थानीय कृष्ण थकालीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने र काली गण्डकी फैलिने क्रम तीव्र हुँदा मुस्ताङका धेरै मानव बस्ती नै खतरमा परेको बताए।
‘१० वर्षअघिसम्म चारैतिरका हिमाल सेताम्मे हुन्थे, कालीगण्डकीको बहाव पनि निकै साँगुरो थियो’ । बर्सातमा आउने सामान्य बाढी छेक्न काठको बार लगाइन्थ्यो तर अहिले तारजाली र आरसिसी ढलानले पनि थाम्न सकिरहेको छैन’, विगतको अनुभव सुनाउँदै थकली भन्छन्।























