
मौसम अनुकूल भएसँगै आइतबा एकै दिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले आइतबार धेरै आरोहीले सगरमाथा चढेका हुन् ।
सोमबार पनि धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेको जनाइएको छ ।
विभागका निर्देशक हिमाल गौतमले भने, ‘मे १८ तारिखका दिन ‘म्याक्सिमम समिट प्लान’ थियो । त्यसैले धेरै सङ्ख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध भएपनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका छन् ।’
निर्देशक गौतमले हालसम्म २०० भन्दाबढीले सगरमाथा आरोहण गरेको र भोलि सोमबार पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको जानकारी दिए ।
फोटो पत्रकारसमेत रहेकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौँपटक सगरमाथा आरोहण गरेकी छन् । श्रेष्ठले आइतबार बिहान सगरमाथाको चुचुरोमा पाँचौँपटक पुगेको सतोरी एडभेन्चर प्रालिले जनाएको छ ।
श्रेष्ठले गत वर्ष एउटै याममा तीनपटक सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्