काठमाडौं-पछिल्लो समय कानुनका छिद्र खोज्दै विभिन्न वस्तु आयात–निर्यात तथा तस्करी गर्ने क्रम ह्वात्तै बढेको छ । नेपालमा पछिल्लो समय सुन, चाँदी, लसुन, केराउ, मरिच, लाइटरलगायतको तस्करी धेरै हुने गरेको छ । चीनबाट लसुन आयात गरेर भारततर्फ तस्करी हुने गरेको तथ्य नयाँ होइन । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा चीन र भारतबाट लसुन आयात हुने गरेको देखिन्छ । चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुनसम्म) मा चीन र भारतबाट गरी नेपालमा ६ अर्ब ९६ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको लसुन आयात भएको छ । आयात हुनेमध्ये ठुलो मात्रा चिनियाँ लसुनको छ ।
८ महिनामा चीनबाट मात्रै ६ अर्ब ३० करोड ९८ लाख २४ हजार रुपैयाँ बराबरको ताजा लसुन आयात भएको छ । भारतबाट भने १ करोड ८१ लाख ५४ हजार रुपैयाँ बराबरको आयात भएको तथ्यांक छ । ८ महिनामा चीनबाट ताजा लसुन ४ लाख ७८ हजार ९८३ क्विन्टल र सुक्खा लसुन २८ हजार क्विन्टल आयात भएको छ । यस्तै, भारतबाट १४ हजार ४४९२ क्विन्टल ताजा र १० हजार क्विन्टल सुक्खा र धुलो पारिएको लसुन आयात गरिएको छ ।
चालु आवको ८ महिनामा जापानमा मात्रै नेपाली लसुन निर्यात भएको भन्सार विभागको तथ्यांक छ । नेपालबाट जम्मा सवा ९ क्विन्टल लसुन जापान निर्यात भएको छ । लसुनको अस्वाभाविक आयात भएको चर्चा चलेपछि तस्करहरू केही शान्त भएको देखिन्छ । पछिल्लो २ महिनामा आयात घटेको भन्सार विभागका सूचना अधिकारी नारायणप्रसाद रेग्मीले जानकारी दिए । उनले भने, ‘आयात रोकिएको छैन, तर कम भएको छ । के कारणले कम भएको हामीलाई थाहा छैन ।’
किन बढ्यो लसुनको अस्वाभाविक आयात ?
नेपालमा यति धेरै मात्रामा लसुन आउनुमा नेपाली उपभोक्ताले धेरै प्रयोग भने होइन । धेरै आयात भएर नेपाली उपभोक्ताले सस्तोमा लसुन खरिद गर्न पाएका पनि छैनन् । मंगलबार कालिमाटी तरकारी बजारमा चाइनिज लसुन प्रतिकेजी ३२० रुपैयाँमा कारोबार भयो । उता भन्सारबाट टनका टन लसुन आउँदा नेपालमा मूल्य नघट्दा प्रश्न उब्जिएको छ । नेपाल आएको लसुन कहाँ जान्छ भन्ने जबाफ सरकारी निकायसँग छैन ।
भारतीय बजारमा चिनियाँ लसुनको माग उच्च रहेको र मूल्य पनि धेरै रहेका कारण तस्कर गिरोहले चीनबाट लसुन आयात गरी नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी गरिरहेको विभिन्न अनुसन्धानले देखाएका छन् । आयातित लसुनको ठुलो हिस्सा तस्करीमार्फत् भारततर्फ जाने भएकाले नेपाली उपभोक्ताले लसुन महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपाल–भारतबीचको खुला सिमानाको फाइदा उठाउँदै लसुन तस्करी व्यापक हुने गरेको स्थानीय बताउँछन् । समुदाय तथा अन्य सरकारी निकायको सहयोगबिना सुरक्षाकर्मी एक्लैले तस्करी नियन्त्रण गर्न सम्भव नभएको प्रहरी बताउँछ ।
८ महिनामा ३०० क्विन्टल लसुन बरामद
सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपालले मात्रै चालु आर्थिक वर्षको ८ महिनामा मात्रै करिब ३०० क्विन्टल लसुन बरामद गरेको छ । जसमध्ये नेपालबाट भारत लैजान लागेको अवस्थामा करिब १५० क्विन्टल लसुन रहेको बताइएको छ । सशस्त्र प्रहरी बलका अनुसार तराईका विभिन्न जिल्लाबाट बढी मात्रामा लसुन बरामद हुने गरेको छ ।
अघिल्ला वर्षहरूभन्दा चालु आवमा अवैध लसुन धेरै बरामद भएको हो । सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/८० मा ४२ क्विन्टल र आव २०८०/०८१ मा साढे २७ क्विन्टल लसुन बरामद गरेको थियो । जसमा निकासी तथा पैठारी (आयात) समावेश छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले पछिल्लो २ महिनायता लसुन बरमदका घटनामा कमी आएको बताए । उनले भने, ‘चाडपर्व दसैँ, तिहारको समयमा अवैध रूपमा ओसारपसार गरेको लसुन धेरै बरामद भए पनि पछिल्लो २ महिनायता कम छ ।’
तस्करी रोक्न सरकारले काम गर्नुपर्छ: कृष्णहरि बास्कोटा, पूर्वसचिव
एउटा मुलुकको सामान तेस्रो मुलुक हुँदै अर्कै मुलुकमा पुग्दा त्यसलाई तस्करी भनिँदैन । त्यसको निश्चित मापदण्ड तथा आयातकर्ता र निर्यातकर्ता प्रष्ट देखिएको हुन्छ । आफूले उत्पादन गरेको वस्तु निकासी गर्न पाइन्छ । कुनै देशमा तेस्रो मुलुकको वस्तु नेपाली उत्पादन हो भनेर बेच्नु तस्करी हो । नेपालबाट लसुन तस्करी भएको विषयमा म जानकार छैन । तर, वैधानिकता मिचेर काम गरिन्छ भने त्यस्तो काम कानुनसम्मत हुँदैन । यसरी तस्करी हुने गरेको हो भने त्यो रोक्नुपर्छ ।
सरकारले नै तस्करीलाई प्रोत्साहन गरिरहेको छ: हेमन्त मल्ल, पूर्वडिआइजी
नेपालका लागि चाहिने भनेर धेरै आयात गरेर भारत पठाउने चलन पहिलेदेखि नै छ । नेपालबाट केराउ, ल्वाङ, सुपारी, सुकमेल, लसुन, अदुवालगायत वस्तु तस्करी हुने गरेकै छ । देशलाई कति आवश्यक छ भनेर आयात अनुमति दिन छाडेर सरकारले मनलाग्दी आयात गर्न दिएकाले सरकारले नै तस्करीलाई प्रोत्साहन गरिरहेको पुष्टि हुन्छ । यसले व्यापार घाटा झन् बढाउने तथा अन्तर्राष्ट्रिय स्तरमा देशकै बेइज्जत हुने अवस्था आउन सक्छ । सरकारले समयमै होस नपुर्याउने हो भने अवस्था असामान्य बन्न सक्छ ।
नेपालमा लसुन आयातको अवस्था
भन्सार विभागको वार्षिक तथ्याङ्क हेर्दा नेपालमा लसुन आयातको परिणाम बढ्दो क्रममा रहेको देखिन्छ।आर्थिक वर्ष २०७६/०७७ मा ३१ करोड ५३ लाख रुपैयाँको लसुन आयात गरेको नेपालले आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब पाँच करोड ९५ लाख रुपैयाँको लसुन भित्र्याएको तथ्याङ्क छ।विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब पाँच करोड ३३ लाख रुपैयाँ र २०७९/०८० मा एक अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको लसुन आयात भएको देखिन्छ।
आर्थिक वर्ष २०८०/०८१ मा दुई अर्ब २२ करोड ५२ लाख रुपैयाँ बराबरको लसुन आयात भएकामा चालु आर्थिक वर्षको पहिलो छ महिनामा चाहिँ उच्च परिमाणमा लसुन भित्र्याइएको विभागका निर्देशक तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले बताए।
चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुस मसान्तसम्ममा छ अर्ब १८ करोड ५४ लाख रुपैयाँ बराबरको लसुन नेपालले आयात गरेको विभागको तथ्याङ्क छ।गत आर्थिक वर्षको साउनदेखि पुससम्म पहिलो छ महिनाको अवधिमा ८७ करोड ८९ लाख रुपैयाँ बराबरको लसुन आयात भएको थियो।त्यससँग तुलना गर्दा चालु आर्थिक वर्षको सुरुका छ महिनामा सात गुणाभन्दा बढी मूल्य बराबरको लसुन नेपालले आयात गरेको देखिन्छ।सो अवधिमा भने जम्मा नौ लाख २० हजार रुपैयाँ बराबरको लसुन निर्यात भएको तथ्याङ्कले देखाउँछ।
उत्पादनको अवस्था
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा आर्थिक वर्ष २०७९/०८० मा नौ हजार ५७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएकामा ७३ हजार पाँच सय ६७ टन उत्पादन भएको तथ्याङ्क छ।
आर्थिक वर्ष २०७८/०७९ मा नेपालले नौ हजार ९४३ हेक्टर क्षेत्रफलमा खेती गरेकामा ७४ हजार ७६३ टन लसुन उत्पादन भएको देखिन्छ।आर्थिक वर्ष २०७७/०७८ मा नौ हजार ७८४ हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएकामा ७२ हजार ४९० टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।नेपालमा उत्पादन हुने लसुन चाहिँ देशभित्रै खपत हुने गरेको सरकारी अधिकारी तथा कृषकहरू बताउँछन्।
अधिकारीहरू के भन्छन्
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भन्सार विभागस्थित अधिकारीहरूले नेपालले हालैका महिनाहरूमा आयात गरेको लसुनको मात्रा “स्वाभाविक” नभएको प्रतिक्रिया दिएका छन्।”पछिल्ला महिनाहरूमा लसुन आयातको मात्रा अस्वाभाविक नै देखिएको छ। त्यसको कारणबारे हामीले अध्ययन गरिरहेका छौँ,” सूचना अधिकारी श्रेष्ठले भने।
यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयस्थित अधिकारीहरूका अनुसार चीनबाट लसुन आयात गरेर अवैध माध्यमबाट भारत निर्यात गरिएको देखिन्छ।”छ महिनामा छ अर्ब रुपैयाँभन्दा बढीको लसुन खपत गर्ने हाम्रो अवस्था देखिँदैन। लसुनको अवैध व्यापार भइरहेको जस्तो देखिन्छ,” मन्त्रालयस्थि वरिष्ठ कृषि अर्थविज्ञ एवं सूचना अधिकारी महानन्द जोशीले बीबीसी न्यूज नेपालीसँग भने।
“त्यत्रो परिमाणमा आयात गरिएको लसुन कहाँ गयो भनेर हामीले हेरिरहेका छौँ,” उनले थपे।भारतीय अधिकारीहरूले पछिल्ला द्विपक्षीय छलफलका क्रममा नेपालबाट चिनियाँ लसुन अवैध रूपमा भारत भित्रिन थालेको प्रवृत्तिबारे चासो राखेका बताइएको छ।
भारतमा उत्पादन कम भएर माग बढेका बेला नेपालबाट चिनियाँ लसुनको अवैध निकासी बढेको हुन सक्ने भन्सार विभागका निर्देशक श्रेष्ठको आकलन छ।तर अध्ययन सकेपछि मात्रै लसुन आयातमा देखिएको व्यापक वृद्धिको आधिकारिक कारणबारे केही भन्न सकिने उनी बताउँछन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका भूतपूर्व सचिव हरि दाहाल पनि लसुन आयातको तथ्याङ्क हेर्दा आफूलाई अस्वाभाविक लागेको बताउँछन्।”हामीकहाँ परम्परागत रूपमा पहाडमा मानिसहरूले आफैँले उत्पादन गरेका लसुन उपभोग गर्दै आएका छन्। सहरबजारमा चाहिँ किनेर खाने गरिएको देखिन्छ,” उनले भने।
विगतमा भारतीय अधिकारीहरूले नेपालमा खासै सुपारी उत्पादन नहुने भए पनि यहाँबाट भारत निर्यात हुने गरिएकोप्रति चासो राखेको उनी स्मरण गर्छन्।”लसुनको हकमा पनि त्यही भएको हो कि,” पूर्वकृषिसचिव दाहालले अगाडि थपे।यद्यपि सूक्ष्म अध्ययन गरेर मात्रै लसुनको उच्च आयातको कारणबारे यकिन भन्न सकिने उनको तर्क छ।
बिरुवा क्वारन्टीन तथा संरक्षण ऐन, २०६४ र नियमावली, २०६६ मा तोकिएका प्रक्रियाहरू पुर्याएर मात्रै नेपालमा निषेध नगरिएका कुनै पनि बिरुवा तथा बिरुवाजन्य उपजहरूको आयात गर्न पाउने व्यवस्था रहेको छ।तर प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रबाट अनुमति नलिईकन ब्याङ्कबाट प्रतीतपत्र (एलसी) जारी गराएकै आधारमा आयातकर्ताहरूले लसुन आयात गरेको पाइएको कतिपय अधिकारीहरू बताउँछन्।उक्त पृष्ठभूमिमा प्लान्ट क्वारन्टीन समितिको बैठकले गत मङ्सिर १७ गते नियमित शत्रुजीवहरूको सूची अद्यावधिक गर्ने निर्णय गरेपश्चात् बिरुवा तथा बिरुवाजन्य उपजहरूको आयातमा हाल थप सतर्कता अपनाइएको छ।
“एक-दुई दिनमा हामी एउटा रिमाइन्डर नोटिस पनि जारी गर्दै छौँ। हामीसँग एन्ट्री पर्मिट (अनुमतिपत्र) नलिईकन बिरुवा तथा बिरुवाजन्य उपजहरूको आयात मान्य हुने छैन। सबै सर्तहरू बुझेर, पूरा गरेर मात्रै आयात गर्नुहोला भनेर भन्न लागेका छौँ,” केन्द्रस्थित वरिष्ठ बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी प्रकाश पौडेलले भने।गत ज्यानुअरीमा केन्द्रले लसुन आयातकै हकमा सर्तहरू पूरा नभएको पाइएपछि एउटा अनुमतिपत्र खारेज गरिदिएको पनि उनले बताए।


विश्व खबर 



















