काठमाडौं । काठमाडौं उपत्यकामा प्रवेश गर्नका लागी अब अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्नु पर्नेछ।
यसका साथै उक्त एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ।
यस्तै समितिले सबै नगरपालिकाहरुमा सञ्चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ(आफ्नो नगरपालिका भित्र एक एक वटा आइशोलेसन रक्वारेन्टाइनको व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
सार्वजनिक स्थानमा गरिने कार्यक्रमहरु स्थगित गर्न र गर्नैपरे कार्यक्रमका लागि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न समितिले आग्रह गरेको छ। चन्द्रागिरि नगरपालिका र दक्षिणकाली नगरपालिकाले हेल्थ डेस्क राखी परीक्षण गर्न गर्ने भएका हुन्। स्वास्थ्य कार्यालयबाट सामग्री पाएपछि र स्वास्थ्यकर्मीलाई तालिम दिएपछि प्रक्रिया बढाइनेछ।
साँगा नाकाबाट प्रवेश गर्नेलाई पनि परीक्षण गर्नलाई भक्तपुर जिल्ला प्रशासनलाई आग्रह गरिने उनले बताए। उपत्यकामा आइसोलेसन सेन्टर बढाउने र क्वारेन्टाइन निर्माणलाई तीव्रता दिने उनको भनाइ छ। भीडभाड क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना गरिनुपर्छ भनेर सचेतनामूलक कार्यक्रम गरिने उनले जानकारी दिए।
उपत्यकामा रहेका प्रत्येक प्रहरी वृत्तले हेल्थ डेस्क राख्नलाई आग्रह गरिएको छ। उनले भने, ‘केही ठाउँमा प्रहरीले हेल्थ डेस्क राखी पनि सकेका छन्।’ सबैलाई कडाइको साथ मास्क लगाउन आग्रह गरिने उनले बताए। तत्काल काठमाडौंमा लकडाउन नगरिने उनले बताए।
के हो त एन्टिजेन परीक्षण ?
कोरोना भाइरसको आरएनएलाई प्रोटिन क्याप्सुलले ढाकिएको हुन्छ। यसमा धेरै प्रकारका प्रोटिनहरू हुन्छन् जसले भाइरसको आरएनएलाई सुरक्षित गर्छ र भाइरसलाई मानव भित्रीकोटभित्र पस्न मद्दत गर्छ।
जब यो भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ, हाम्रो प्रतिरक्षा कोषहरूले यी प्रोटिनहरूलाई पहिचान गर्न सक्दैन। त्यसैले यस्ता प्रोटिनलाई नष्ट गर्न प्रतिरक्षा प्रणालीले एन्टिबडी लगायत विभिन्न रसायनहरू उत्पादन गर्छ।
कुनै तत्व जसलाई हाम्रो प्रतिरक्षा प्रणालीले चिन्दैन र फरेन बडीको रुपमा लिन्छ, त्यसलाई एन्टिजेन भनिन्छ। अर्को शब्दमा फरेन बडी प्रायजसो प्रोटिन जसले प्रतिरक्षा प्रणालीलाई उत्तेजित गर्छ, त्यसलाई एन्टिजेन एन्टिबडी जेनरेटर भनिन्छ। यी भाइरल प्रोटिन पनि त्यसैले एन्टिजेन हो।
नमुनामा यस्ता भाइरल एन्टिजेनको पहिचान गर्न सके उक्त नमुनामा कोरोना भाइरस छ भन्ने संकेत गर्छ। यसरी गरिने परीक्षणलाई एन्टिजेन टेस्ट भनिन्छ। यस परीक्षणका लागि पिसिआर टेस्टमा जस्तै नेजोफ्यारेन्जियल स्वाब र ओरोफ्यारेन्जियल स्वाबलाई नमुनाको रुपमा संकलन गरिन्छ।
तर पिसिआर र एन्टिजेन टेस्टको भिन्नता चाहिँ के छ भने पिसिआर विधिमा कोरोना भाइरसको आनुवंशिक तत्व आरएनए को उपस्थिति पत्ता लगाइन्छ भने एन्टिजेन टेस्टमा चाहिँ कोरोना भाइरसको प्रोटिनको टुक्राको पहिचान गरिन्छ।
प्रतिक्रिया दिनुहोस्