
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा-११, थानाभर्याङमा ट्रकले अटोलाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने उनका बालख छोरासहित २ जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा मकवानपुरको मनहरि गाउँपालिका-६ खयरघारी की ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको हो।
शुक्रबार (हिजो) राति करिब ८ बजे चितवनतर्फ जाँदै गरेको ना ४ ख. २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह. ८३०८ नम्बरको अटोलाई ठक्कर दिएकाे हो।
दुर्घटनामा ३ जना घाइते भएकामा थानाभर्याङमै रहेको सीएमसी चुरेहिल अस्पतालमा उपचारका क्रममा बम्जनको गएराति मृत्यु भएको हो।
दुर्घटनामा मृतक बम्जनका ११ वर्षीय छोरा अमृत र अटो चालक हेटौँडा-१९ बासघारीका २५ वर्षीय राजु थिङ घाइते भएका छन्।
अटो चालकको अवस्था गम्भीर छ भने अमृतको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ट्रक चालक चितवन राप्ती नगरपालिका-२ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्