images
images
  • पल शाहका पूर्वम्यानेजरलाई ज्यान मार्ने धम्की, दिउँसो प्रहरी हेडक्वार्टरबाट फोन, मध्यराति नकावधारीहरू कोठामा

    कलाकार कृष्ण जोशीले आफूलाई नकावधारीहरूले डेरामै आएर ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा शान्ति सुरक्षाको निवेदन दिएका छन् । गएको १८ असोज राति साढे १० बजेतिर काठमाडाैंको शान्तिनगरस्थित आफ्नो डेरामै आएर नकावधारीहरूले ज्यान मार्ने धम्की दिए पनि प्रहरीले अनुसन्धान नगरिदिएपछि उनले प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

    प्रहरीमा उजुरी गरेको चार महिनासम्म पनि अनुसन्धान अगाडि नबढाएको भन्दै जोशीले सोमबार दिएको निवेदनसम्बन्धमा आवश्यक अनुसन्धान गर्न प्रशासन कार्यालयले प्रहरी परिसर काठमाडाैंलाई परिपत्र गरेको छ ।

    भएको के हो ?

    १८ असोजमा जोशी सुटिङको सिलसिलामा फर्पिङमा थिए। उनलाई एक युवतीले फोन गरेर ‘तपाईंको स्टुडियोमा गीत रेकर्डिङ गर्नुपर्नेछ’ भन्दै प्रस्ताव गरिन् । तर, जोशीले आफूसँग रेकर्डिङ स्टुडियो नरहेको बताउँछन् ।

    त्यसपछि युवतीले भेटेर सल्लाह गर्ने भन्दै फोन काट्छिन् । सोही दिन अपराह्न जोशीलाई प्रहरी प्रधान कार्यालय नक्सालको ०१–५७१९८८६ फोन आउँछ । ‘कसैसँग लेनलेन छ र’ भन्दै प्रहरी प्रधान कार्यालयबाट फोन आएपछि जोशी झसङ्ग हुन्छन् । उनले आफूले कसैलाई दिनुपर्ने नरहेको तर लिनुपर्ने हुन सक्ने जवाफ दिन्छन् ।

    दिउँसो अपरिचित युवतीले भेटेर सल्लाह गर्ने बताएको र साँझ प्रहरी प्रधान कार्यालयबाट फोन आएर लेनदेनको विषय सोधिएपछि आफू अलमलमा परेको जोशीले बताए ।

    ‘त्यसपछि मैले फेरि आफूलाई फोन आएकै प्रहरी प्रधान कार्यालयको नम्बरमा फोन गरेर बुझ्न खोजेँ । तर, उताबाट ‘केही परे फेरि फोन आउँछ’ भन्दै फोन काटियो’, जोशीले भने ।

    दिउँसो युवती र प्रहरीको फोन, मध्यराति नकावधारी डेरामा

    १८ असोजकै साँझ काम सकेर शान्तिनगरस्थित डेरामा पुगेका जोशी निदाउने तरखरमा थिए । तर, रातको साढे १० बजेतिर अकस्मात् ढोका ढकढक हुन्छ । ‘नकावधारीहरूले ढोका खोल तँलाई मारिदिन्छाैँ भन्न थाले’, जोशीले भने, ‘म लुकेर बसेँ । बहिनीले दादा घरमा नरहेको बताएपछि उनीहरू फर्किए ।’

    कालो लुगा र कालै नकाव लगाएका चार/पाँच जनाले ज्यान मार्ने धम्की दिएपछि आफूले दोस्राे दिन बिहानै अघिल्लाे दिन फोन आएको प्रहरी प्रधान कार्यालयको नम्बरमा फोन गरेर आफूमाथि भएका घटनाबारे जानकारी गराएपछि त्यहाँका अधिकृतहरू चकित परेकाे जोशीले सुनाए ।

    कसले गर्‍यो प्रहरी हेडक्वार्टरबाट फोन ?

    जोशीले आफूमाथि भएका घटनाक्रमबारे जानकारी गराएपछि प्रहरी प्रधान कार्यालयमा खैलाबैला मच्चियो । लेनदेनको विषयमा अनुसन्धान गर्ने छुट्टै निकाय भए पनि प्रधान कार्यालयबाट फोन गरिएकोबारे साेधीखोजी भयो । यता जोशीले भने प्रहरी वृत नयाँ बानेश्वरमा ठाडो उजुरी गरिसकेका थिए ।

    उनलाई १९ गते प्रहरी प्रधान कार्यालयको नम्बरबाट फेरि फोन आयो । ‘म हवल्दार महेश बडू बोलेको हुँ । तपाईंलाई मैले फोन गरेको हुँ भेटेर सल्लाह गराैँ’ भनेपछि नयाँ बानेश्वर प्रहरी वृत्तमै आफूहरूको भेट भएको जोशीले बताए ।

    ‘भेट हुँदा पनि हवल्दार बडूले सुरुमा किन फोन गरेको हो भनेर खुलाउनु भएन,’ जोशीले भने, ‘जब मैले तपाईंविरुद्ध पनि उजुरी दिन्छु भनेपछि उहाँ आत्तिनुभयो र ऋता पाैडेल नाम गरेकी युवतीको आग्रहमा फोन गरेकाे बताउनुभयाे ।’

    नम्बर भिडाएर हेर्दा ऋता पाैडेल तिनै युवती भएको खुल्यो, जसले जोशीलाई गीत रेकर्डिङका लागि भन्दै १८ असोज दिउँसाे फोन गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई पनि झिकाएर सोधपुछ गर्‍यो । त्यस क्रममा पाैडेलले कलाकार जोशीको काेठामा ‘केटाहरू’ आफूले नै पठाएको स्वीकार गरेको प्रहरी स्राेत बताउँछ ।

    ‘यति हुँदाहुँदै पनि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि नबढाएपछि म प्रशासनमा पुगेको हुँ,’ जोशी भन्छन्, ‘अब अनुसन्धान अगाडि बढ्छ कि !’

    के भन्छन् हवल्दार बडू ?

    हवल्दार महेश बडू ऋता पाैडेलको आग्रहमा आफूले जोशीलाई फोन गरेको बताउँछन् । ‘पाैडेलसँग सामान्य चिनजान थियो । उहाँले पैसा उठाउनुपर्ने छ भनेपछि मैले सामान्य ढंगले फोन गरिदिएको हुँ । त्यसबाहेक अरु केही पनि होइन’, बडू भन्छन् । तर, कलाकार जोशी भने प्रहरीकै संलग्नतामा आफूमाथि षड्यन्त्र भएको दाबी गर्छन् । उनका अनुसार अभिनेता पल शाहसँग पाैडेलको राम्राे सम्बन्ध छ ।

    कुनै बेला पल शाहको व्यवस्थापकका रूपमा जोशीले काम गरेका थिए । तर, पल बलात्कार प्रकरणमा मुछिएसँगै जोशीसँग उनको सम्बन्ध बिग्रेको थियो । ‘त्यही कारण पनि ममाथि अपराध हुन थालेको हो कि ? यसबारे अनुसन्धानपछि थाहा होला,’ जोशीले भने । यसबारे बुझ्न खोज्दा पाैडेलको भने फोन उठेन ।

    आफूमाथि भएको घटनाको अनुसन्धानमा प्रहरीले तदारुकता नदेखाएको जोशीको गुनासो छ । यसबारे बुझ्न खोज्दा बानेश्वर प्रहरी वृत्त मुद्दा फाँटका प्रहरी निरीक्षक धनबहादुर रावलले अनुसन्धान जारी रहेको बताए । उनले भने, ‘घटनाको अनुसन्धान जारी नै छ । प्रहरीले काम गरिरहेको छ ।’

    प्रतिक्रिया दिनुहोस्