images
images
  • गायक बद्रि पंगेनीको नजरमा युरोकप: जर्मनी र फ्रान्स निकै सशक्त देखिए

    नेपालीको नजरमा युरोकप

    युरोकपका एउटा पनि खेल हेर्न छुटाएको छैन । राति पौने १ बजे सुरु हुने खेल पनि पूरै हेर्ने गरेको छु । बरु बिहान ब्याडमिन्टन एकैछिन खेलेर आएर सुत्ने गरेको छु । खेल भने बिहानैसम्म भए पनि हेर्छु । गाउँघरमा आमाहरूले एकचित्त लगाएर स्वस्थानी कथा सुनेजस्तै हो मेरा लागि युरोकपका खेलहरू । त्यसवेला कसैले फोन गर्‍यो भने पनि मेरो फोन नउठ्न सक्छ ।

    कोरोना भाइरस (कोभिड– १९) महामारीको दोस्रो लहरले विशेषगरी नेपालीलाई आक्रान्त पारिरहेको समयमा युरोकप पीडालाई भुलाउने माध्यमसमेत बनेको छ । संक्रमणको डरले पहिलेजस्तो साथिभाइसँग रमाइलो गरी समूहमा हेर्ने वेला छैन । तर, घरभित्रै परिवारसँग रमाइलोसँग हेर्न सकिन्छ । मेरो त घर र ससुराली सँगै छ । दुई परिवारका सबै सदस्य मिलेर हेर्छौं । घर नै सानो स्टेडियमजस्तै हुने गरेको छ ।

    अहिलेसम्मका खेलहरू निक्कै रमाइला भएका छन् । समूहगत चरणका अन्तिम खेलतर्फ आइपुग्दा स्पेन उपाधि दाबेदार टोली होइन भन्ने निश्चित भएको छ । स्पेनी प्रशिक्षक लुइस एन्रिकले टोली बनाउँदै गल्ती गरे भन्ने मेरो बुझाइ थियो । उनले दुरासयपूर्ण तरिकाले रियल म्याड्रिडका खेलाडीलाई टोलीमा समावेश गरेनन् । पूरैजस्तो युवा खेलाडीलाई समेटेका छन् । युवा खेलाडीलाई समेट्नु राम्रो हो तर पुराना र अनुभवी खेलाडीको उपस्थिति टोलीका लागि महत्वपूर्ण हुने गर्छ । त्यो तथ्यलाई उनले बिर्सिए ।

    त्यसबाहेक जर्मनीको टिम निक्कै राम्रो छ । जर्मनीसँगै फ्रान्सलाई यसपटक उपाधिको मुख्य दाबेदार मानेको छु । धेरै नेपालीलाई रोजगारी दिएको र विश्व फुटबललाई बचाउन मुख्य योगदान गरेकाले इंग्ल्यान्ड वा बेल्जियमले उपाधि जितोस् भन्ने चाहना छ । यी देशले उपाधि नजितेको पनि धेरै भएको छ । यस्तै, रोनाल्डोको मायाले पोर्चुगलले जितोस् भन्ने चाहन्छु । तर, फेरि पनि मैदानमा अन्य टोलीलाई नै बलियो देखेको छु । 

    जर्मनीको टिमको लय एकदमै राम्रो छ । फ्रान्समा स्टार खेलाडी छन् । एम्बाप्पेको गति, विपक्षीसँग बल खोस्न सक्ने एङ्गोलो कान्टेको कला, ग्रिजम्यानको फ्रिकिकले फ्रान्स अझ बलियो देखिएको छ । उनीहरूलाई यही कारणले उपाधिको बलियो दाबेदार देखिएको हो । उनीहरूसँगै इटाली, नेदरल्यान्ड्स र बेल्जियम पनि बलियो देखिएका छन् । यद्यपि, बेल्जियमको रक्षापंक्ति कमजोर छ । रोमेलु लुकाकु, केभिन डी ब्रुनी, हाजार्डजस्ता खेलाडीले बेल्जियमको अग्रपंक्ति जति बलियो देखिएको छ, त्यसअनुसारको रक्षापंक्ति छैन । अहिलेसम्मका खेल रोमाञ्चक छन्, अगाडिका खेल थप रोमाञ्चक बन्ने अपेक्षा गरेको छु ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images