images
images
  • चिनियाँ पक्षले रोङ्सीमा थुनिएको तामाकोशी खोलिएपछि तत्काललाई ट¥यो बाढीको संकट

    दोलखा। पहिरोले थुनिएको तिब्बततर्फको रोङसी खोलाको तालबाट पानीको निकास गराउन चिनियाँ पक्ष सफल भएको छ । शुक्रबार राति चीनको तीङग्री काउन्टी नजिकै पहिरोले तामाकोसीको सहायक रोङसी खोला थुनिएको ३५ घण्टापछि पानीको निकास दिइएको हो ।

    ताल बनेको रोङसी खोलाबाट चिनियाँ टोलीले सुरक्षित रूपमा पानीको निकास गराएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । पहिरोले थुनिएको तालमा एक लाख घनमिटरभन्दा बढी पानी जम्मा भएको उनले जानकारी दिएका छन् । सावधानी अपनाएर उक्त तालबाट पानीको निकास दिइएको चिनियाँ पक्षले बताएको उनले जानकारी दिए ।

    ‘एकै पटकमा ताल फुटाए तामाकोसी नदीमा पानी बहाव उच्च हुने र ठूलो संकट आउन सक्ने थियो,’ उनले भने ‘चिनियाँ टोलीलाई पटकपटको आग्रहमा उनीहरुले तालबाट सुरक्षित रुपमा पानीलाई निकास दिएका छन् ।’ तत्कालका लागि तामाकोसी तटीय क्षेत्रमा संकट टरेको घिमिरेले बताए ।

    माथिल्लो भेगमा वर्षा जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भने उनले आग्रह गरेका छन् । रोङसीको निकासपछि तामाकोसी बहावमा केही उतारचढाव आएको छ । तामाकोसीको बहाव घटने र बढ्ने भइरहेको माथिल्लो तामाकोसी आयोजनाका आयोजना वरिष्ठ इन्जिनियर विमल गुरुङले बताए । यद्यपि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । आइतबार बिहानैबाट चिनियाँ पक्षले तालबाट पानीको निकास दिने गरी काम थालेको थियो ।

    ताल फुटाउने कि न फुटाउने भन्नेमा चिनियाँ पक्ष अन्योलमा परेको थियो । सुरक्षित रुपमा थुनिएको खोलालाई निकास दिइएको चिनियाँ पक्षले जवाफ पठाएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । ‘तत्कालका लागि संकट टरेको छ,’ उनले भने, ‘तर तटीय क्षेत्रका बासिन्दालाई पानीको बहाव घटबढ भइरहने हुँदा सतर्कता अपनाउन भनेका छौं ।’ नदी तटीय क्षेत्रमा बसोबास गरिरहेकाहरुलाई सुरक्षित स्थानमा हुन माइकिङ गरिएको छ ।

    पहिरोले थुनिएर ताल बनेको तामाकोसी ओभरफ्लो भएर बग्न थाल्यो

    नेपाल–चीन सीमानजिकै शुक्रबार रातिदेखि पहिरोका कारण थुनिएको तामाकोसी नदीको सहायक खोला रोङ्सी शनिबार साँझपखबाट बग्न थालेको हो ।

    शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीको सहायक रोङसी खोला थुनिएको थियो । पहिरोले थुनिएको खोला ताल बनेपछि ओभरफ्लो भएर बग्न थालेको हो । ओभरफ्लो भएर बग्न थालेपछि तामाकोसीमा बहाव बढेको छ । तामाकोसीको बहाव बढ्दै गएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका अनुगमन अधिकृत वरिष्ठ इन्जिनियर विमल गुरुङले बताए । तर आत्तिनुपर्ने अवस्था नभएको उनले बताए । उनका अनुसार प्रतिसेकेन्ड १ सय ५० घनमटिरमा बगिरहेको तामाकोसीको बहाव बढेर २ सय ५० घनमिटर प्रतिसेकेन्ड नाघेको छ ।

    उक्त क्षेत्रमा पुगेको चिनियाँ टोलीले पहिरोले ताल बनाएको रोङ्सी खोलाको बहावलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । रात परेकाले ताल खुलाउने कामलाई तीव्रता दिन नसकिएको चिनियाँ पक्षले जानकारी गराएको दोलखा प्रशासनले जनाएको छ । आइतबार बिहानदेखि पुन: काम सुरु गरिने पनि चिनियाँ पक्षले जानकारी दिएको छ । थुनिएको खोला सुरक्षित रुपमा खोल्नेगरी काम थाल्ने चिनियाँ पक्षले जवाफ पठाएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । ‘तामाकोसीको बहाव नबढ्ने गरी थुनिएको खोला खोल्ने काम भइरहेको छ,’ घिमिरेले भने ‘चिनियाँ पक्षले पानीको बहाव नबढ्ने गरी खोल्ने प्रयास गरिरहेको बताएको छ ।’

    दोलखाको लामाबगरबाट १८ किलोमिटर उत्तरतर्फको रोङ्सी तामाकोसी नदीको मुख्य सहायक खोला हो । धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल खुलाउने काम भइरहेको घिमिरेले जानकारी दिए । नेपालतर्फबाट उक्त क्षेत्रमा जान असम्भव भएकाले उतैबाट टोली खोला थुनिएको क्षेत्रमा पुगेको हो ।

    यसैबीच माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयमा हाल पानीको सतह १९ सय ७८ मिटरमा रहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । आयोजनाको बाँधले प्रतिसेकेन्ड ६ सय घनमिटरको बहाव आए ३ सय नदीमा छोडेर ३ सय जलाशयले डेढ घण्टा रोक्न सक्ने उनले बताए । तामाकोसीको बाँध ५ हजार घनमिटर प्रतिसकेन्डसम्मको बहाव थेग्न सकिने गरी निर्माण गरिएको पनि उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images