काठमाडौं – दक्षिण भारतीय फिल्म पुष्पा २ ले राम्रो व्यापार गर्ने अनुमान सबैको थियो । तर यति राम्रो व्यापार गर्ला भन्ने अनुमान भने सायदै कसैले गरेका थिए ।
अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा यतिखेर तहल्का नै मच्चाइरहेको छ भन्दा फरक नपर्ला ।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘पुष्पा २’ ले १४ दिनमा विश्वभरबाट १५०० करोड भारू (नेपाली २४ अर्ब रुपैयाँ) कमाइसकेको छ । भारतबाट मात्रै फिल्मले ९७३ करोड भारू कमाएको भारतीय सञ्चारमाध्यामहरुले उल्लेख गरेका छन् ।
‘पुष्पा २’ भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म बनेको छ। यसले घरेलु बक्स अफिसमा ‘आरआरआर, केजिएफ, जवान, कल्की’ लगायत फिल्मको रेकर्ड तोडिसकेको छ। तर यसले ‘बाहुबली २’ को रेकर्ड भने अहिलेसम्म तोड्न सकेको छैन । ‘बाहुबली २’ ले भारतमा १०३० करोड ४२ लाख भारू कमाइ गरेको थियो । केहि दिनमा यो रेकर्डसमेत तोडिन सक्ने विश्लेषण गरिएको छ ।
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय रहेको छ ।


विश्व खबर 




















