काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले माथिल्लो अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभावासीको सहभागिता हुने बताएका छन् ।
सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसियशन (एसकाज)ले आज साँझ आयोजना गरेको मनराज–एसकाज पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले चाँडै माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम सुरु हुने र त्यसमा सङ्खुवासभावासीको सहभागिता हुने बताएका हुन् ।
“स्रोतको हिसाबले सङ्खुवासभा धनी जिल्ला हो, सङ्खुवासभावासीले आफ्नो स्रोतको उपयोग गर्न पाउनुपर्छ, सङ्खुवासभाका बासिन्दाले माथिल्लो अरुणको शेयर प्राप्त गर्नेछन्, गरिब तथा विपन्न वर्गका जनतालाई जलविद्युत्को शेयर सुनिश्चित गर्नेगरी सरकारले काम गरिरहेको छ,” उनले भने ।
मन्त्री खड्काले जनसङ्ख्याको आधारमा भन्दापनि घरधुरीको आधारमा शेयरको व्यवस्था गरिने उल्लेख गरे । उनले खोेला बेच्न लागियो भनेर समाजमा गलत भाष्य सिर्जना गर्न खोजिएको पनि बताए ।
“खोला बेच्न लागिएको होइन, यहाँ उत्पादित विद्युत्लाई आन्तरिक खपत बढाएर बाँकी विद्युत् छिमेकी मुलुक निर्यात गर्न लागिएको हो,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्