images
images
  • सय करोड कमाउने ऐतिहासिक यात्रामा ‘पूर्ण बहादुरको सारङ्गी’, चार हप्तामा ७० करोड कमायो

    काठमाडौं – चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म ७० करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । चार हप्तामा यो चलचित्रले ७० करोडको आंकडा पार गरेको हो ।

    आजबाट ‘पूर्ण बहादुरको सारङ्गी’ पाँचौं हप्तामा प्रवेश गरेको छ । निर्माणपक्षका अनुसार नेपालबाट ‘पूर्ण बहादुरको सारङ्गी’ले ४७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

    जापानमा १८ लाख कलेक्सन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले अमेरिका र क्यानडामा साढे ९ करोडभन्दा माथि कलेक्सन गरेको छ ।

    अस्ट्रेलियामा ९ करोड कलेक्सन गरेको छ । मिडल इस्टमा ५ करोड रुपैयाँ कलेक्सन गरेको छ । ओभरसिजमा भने यो चलचित्र करिब एक हप्तापछि रिलिज भएको थियो ।

    हालसम्मको यो कलेक्सन हेर्दा ‘पूर्ण बहादुरको सारङ्गी’ले अझै ठूलो परिमाणमा कलेक्सन गर्ने देखिन्छ । बिदाका दिन अधिकांश शो हाउसफूल भइरहेको छ । यसले ‘पूर्ण बहादुरको सारङ्गी’ सय करोड क्लबको यात्रामा रहेको देखिन्छ । तर, प्रदर्शनको पाँचौं हप्तामा रहेकाले अब ३० करोड कलेक्सन गर्न भने सहज छैन ।

    तर, हलमा दर्शकको चाप र वर्ड अफ माउथ (मौखिक प्रचार) राम्रो भएकाले चलचित्रले आगामी दिनमा पनि राम्रो कलेक्सन गर्ने अपेक्षा गरिएको छ । सय करोड क्लबमा प्रवेश गर्ने यात्रामा रहेको यो चलचित्रलाई अब ३० करोड थप कलेक्सन गर्न सहज नभए पनि यो सम्भावनालाई नकार्न सकिने अवस्था छैन ।

    सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।

    चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

    कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

    ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाखमा निर्माण भएको चलचित्र हो । यो चलचित्रले ठूलो नाफा कमाउने निश्चित भएको छ। नेपाली चलचित्र क्षेत्रमा नयाँ सफलता र मापदण्ड स्थापित गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक यात्रामा रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images