धनगढी- जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उमेद्वार टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रुपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी टीकाकुमारी चौधरी जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएकाे प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएको जानकारी दिए । बुधवार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो।
नाउपाका नेता लक्ष्मण किशोर चौधरीसहित कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट लगायतका नेताहरुको उपस्थितिमा नाउपाकी रुपमतिले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
टीकाकुमारीले सत्तारूढ दल नेकपा एमालेको समर्थनमा प्रमुख पदमा उम्मेदवारी दिएकी थिइन् ।
यसअघि जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित नेपाली कांग्रेसका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि अहिले जिसस प्रमुखको लागि पनि निर्वाचन घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्