
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न सुरु गरेको छ ।
मन्त्रिपरिषद् र प्राधिकरणको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणले मातहतका कार्यालयहरूलाई लाइन जोड्न पत्राचार गरेको थियो ।
‘मंगलबार राति ११ बजेदेखि लाइन जोड्न सुरु गरेको हो । हिजो राति ६ उद्योगमा लाइन जोडिएको थियो । अहिले थप उद्योगमा जोड्न थालिएको छ । बिहानभर सबैमा सकिन्छ,’ प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने ।
महसुल भुक्तानी नगरेपछि प्राधिकरणले कार्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो । त्यसमध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो।
बाँकी रहेका २८ उद्योगमा मंगलवार रातिदेखि लाइनजोड्न सुरु गरिएको हो ।
आइतवार बसेको मन्त्रिपरिषद्ले उद्योगको लाइन जोड्ने र उद्योगहरुको बक्यौता टीओडी मिटरका आधारमा १५ दिनभित्र उठाउने निर्णय गरेको थियो । मंगलवार विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले सरकारको निर्णय कार्यान्वयन गर्न सबै उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।
उद्योगहरुमा लाइन काटिँदा धेरै उद्योगको उत्पादन बन्द भएको र त्यसले राज्यको अर्थतन्त्रमा अतुलनीय क्षति पुगेको सरकारले ठहर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्