images
images
  • ४२५० मिटर उचाईंमा अवस्थित तिलिचो तालको बेश क्याम्पमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

    काठमाडौं – हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।

    मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो ।

    बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेस क्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ ।
    सौर्य ऊर्जाको व्याकपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताए ।

    ‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीहरुको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत्को प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले गर्दा ग्यासको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ’,’ बेस क्याम्पमा होटलसमेत सञ्चालन गर्दै आएका वडाध्यक्ष गुरुङले भने ।

    tilicho base camp

    ‘लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्यासको प्रयोगलाई पूर्ण रुपमा कटौती गर्न सकिन्छ ।’ उनले उक्त क्षेत्रमा दाउरा महंगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्यासको प्रयोग हुने गरेको उल्लेख गरे ।

    केहीदिनअघि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सार पुग्नु भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्‍याइएको बताए । वडाध्यक्षसहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भने,‘बेस क्याम्पमा राष्ट्रिय ग्रिड पुर्याउनमा केन्द्रीत थियौं, ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधारलगायतका कामहरु उच्च प्राथमिकतामा राखी अगाडि बढाउने छौं ।’

    लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्याक्र्युस्थित ३३/११ केभी सबस्टेसनमा पुर्याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्याइएको हो ।

    tilocho electric

    प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत र ८० किलोवाटको मनाङ साना जलविद्युत केन्द्र सञ्चालन गरेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएको वेला साना जलविद्युत केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए ।

    मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट लाइन दिन सुरु गरेपछि मनाङको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।

    धारापानी सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि आवश्यक संरचनाको व्यवस्था गरिएको छ । उक्त सबस्टेसनबाट लाइन दिन थालेपछि प्रसारण लाइन लम्बाइ घटी विद्युत् अपूर्तिमा सुधार हुनेछ ।धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images