काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा सरसफाइ अभियन्ता राजमान मानवले उम्मेदवारी दिने भएका छन् ।
नेवाः लहना विश्व सरसफाइ अभियानका संस्थापक राजमान कीर्तिपुर नगरपालिका वडा नम्बर १ का बासिन्दा हुन् । विगतमा एमाले पृष्ठभूमिका मानव हाल कुनै दलमा आवद्ध छैनन् । सरसफाइ कार्यक्रम मार्फत कीर्तिपुरका सबै बासिन्दाले आफूलाई चिनेको उनले दाबी गरेका छन् ।
मानवलाई धरानका मेयर हर्क साम्पाङले समेत समर्थन गरेका छन् । कीर्तिपुरलाई पार्टीको गढबाट जनताको गढ बनाउन मेयरको उम्मेदवार बन्न लागेको विचार उनले राखेका छन् । सबै दलहरु मिलेर आएपनि पराजित गर्ने उनको दाबी छ ।
मानवले बिगतमा मानिसले गरेको भौतिक फोहोरबाट सहरलाई सफागरेको र अव राजनीतिक फोहोरलाई सफा गर्ने बताएका छन् ।
गत निर्वाचनमा कीर्तिपुरको मेयर पद कांग्रेसले जितेको थियो । कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि रिक्त रहेको मेयर पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
कीर्तिपुरको मेयरमा एमालेले डा. सुरेन्द्र मानन्धरलाई, माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएका छन् । कांग्रेस, रास्वपा लगायत दलले भने उम्मेदवार चयन गरिसकेका छैनन् ।
कीर्तिपुरमा राजमान बाहेक पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका धेरै जनाले कार्यालयल नै स्थापना गरी प्रचारप्रसारमा उत्रिसकेका छन् ।


विश्व खबर 



















