काठमाडौं – जापान भ्रमणको विवादमा तानिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले बुधवारै पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा उनले नैतिकताको आधारमा राजिनामा दिएको उल्लेख गरेका छन् ।
अहिले नेपालको राजनीतिमा निकै ठूलो नैतिक खडेरी रहेकोले जापान भ्रमणको विषयमा टीकाटिप्पणी भएपछि आफूले पदबाट राजिनामा दिएको अधिकारीले बताएका छन् ।
एमालेबाट प्रदेश सभामा निर्वाचित अधिकारी गत जेठ ४ गते मात्रै आन्तरिक मामिलामन्त्री नियुक्त भएका थिए । यहि कात्तिक ११ गतेदेखि १५ गतेसम्म उनी जापान भ्रमणमा गएका थिए । उनको भ्रमण कोशी प्रदेशको मन्त्रिपरिषद्ले स्वीकृत गरेको थिएन । उनले मौखिक रुपमा मात्रै मुख्यमन्त्रीलाई जानकारी गराएको पाइएको थियो ।
आफ्नै कार्यकर्ताले डबाए !
आफ्नै क्षेत्रका कार्यकर्ताको विश्वास गरेर जापान उडेका कार्कीलाई उनीहरुले मानव ओसार पसार गरिरहेको कुरा सुइको सम्म थिएन । हङकङको ट्रान्जिटमा उनीसँगै कार्यक्रममा सहभागी हुन भनी हिँडेका अन्य तीनजना पनि मिसिएपछि मात्रै अधिकारीले आफू गलत मान्छेको विश्वासमा जापान उडेको सुइको पाएका थिए ।
अधिकारीलाई जापानको टोकियो महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुने निम्तो आएको थियो । त्यसको व्यवस्थापन एक जना एमालेकै कार्यकर्ताले गरेका थिए । कार्यक्रममा मन्त्रीको हैसियतमा एक्लै जाने र सम्पूर्ण खर्च आयोजकले ब्यहोर्ने जानकारी व्यवस्थापकले गराएका थिए ।
हङकङमा भ्रमण दलको सदस्य भन्दै खोटाङका जनक राई र दावा शेर्पा तथा रसुवाका कञ्चन देवकोटाले मन्त्रालयको कर्मचारीको कार्ड देखाएर परिचय गरेका थिए ।
मन्त्रालयका कर्मचारी भनेपनि अधिकारीले उनीहरुलाई कहिलेइ देखेका थिएनन् । कुरा बुझ्दै जाँदा उनीहरु तीनै जना जापान पुगेपछि उतै लुक्ने योजनामा हुन्छन् ।
टोकियो पुगेपछि मन्त्री अधिकारी पूर्वनिर्धारित कार्यक्रममा नगएर आफूसँग गएका तीनै जनालाई सँगै लिएर नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि उनीहरुलाई प्रहरीको जिम्मा लगाएको अधिकारीले बताएका छन् ।
प्रहरी विशेष व्यूरोले पनि अधिकारीले तीन जनालाई अनुसन्धानका लागि जिम्मा लगाएको बताएकोछ । उनीहरुको अहिले म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।


विश्व खबर 


















