images
images
  • चिउरीको दाना पेलेर तिहारमा घ्यूको जोहो

    ४ कात्तिक । गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।

    गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौराका नागरिकले परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरेका छन् । घोरादौरको लामीधारा गाउँमा १४ परिवारको बसोबास छ । सोही गाउँका राधा गिरी चिउरीका बिजुला पकाउँदै गरेको अवस्थामा भेटिइन् । उनले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेको बताइन् ।

    घरको कामबाट फुर्सद निकालेर नजिकैको जङ्गलमा गएर चिउरी टिप्ने गरेको उनले सुनाए । “प्रत्येक वर्ष बिजुला टिप्ने र पेल्ने गर्छौँ, यस वर्ष पाँच मुरी चिउरी टिपेका थियौँ, त्यही पेलेर घ्यू बनाउँदैछौँ”, गिरीले भने ।

    उनले भने, “बाउबाजेको पालादेखि घोरदौरामा चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।” चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको उनको भनाइ छ ।

    तिहारमा रोटी पकाउन पनि चिउरीको घ्यू प्रयोग गर्ने उनले बताए। बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उनले एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने गरेको बताए । गाउँका सबै मिलेर चिउरी कुट्ने, पेल्ने गरेका छौँ, एक्लै काम गर्न गाह्रो हुन्छ’, उनले भने ।

    सोही ठाउँका खडकबहादुर महरा पनि चिउरी पेल्न आएकाले पालो कुरेर बसेका छन् । उनले भने, “बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ ।” चिउरीको घ्यू स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । चिउरीको घ्यूमा कुनै मिसावट हुँदैन आफैँले टिप्ने र पेल्ने गरेकाले शुद्ध हुने उनको भनाइ छ । चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ ।

    घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरत अर्यालले चिउरीको घ्यू पेल्ने कोल र ढिकीलाई संरक्षण गरेको बताए । खुला आकाशमुनि रहेको परम्परगत कोलको संरक्षण गर्न वडा कार्यालयले रु एक लाख उपलब्ध गराएको उनको भनाइ छ । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images