images
images
  • एक व्यक्तिको सनकले २० हजार मानिस ८ दिनदेखि सम्पर्कविहीन, ‘दसैंमा आफन्तको मुख हेर्नै पाएनन’

    बझाङ । गत हप्तादेखि बझाङको खप्तडछान्ना गाउँपालिकामा सञ्चार सम्पर्क टुटेको छ ।

    गत असोज २३ गते खप्तडछान्ना गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावरमा अज्ञात समूहले तोडफोड गरेपछि गाउँपालिका सम्पर्कविहीन बनेको हो ।

    सञ्चार सम्पर्कविहीन भएपछि गाउँबाहिरका आफन्तसँग दसैँको रमाइलो साट्न नपाएको खप्तडछान्ना गाउँपालिका–७ का प्रदीप खड्काले बताए । खप्तडछान्ना गाउँपालिकास्थित गोर्खाली गाउँमा दसैँको दिन मेलासमेत आयोजना गरिएको थियो।

    उनले भने, ‘अष्टमीको दिनदेखि टेलिफोनको नेटवर्कले काम गर्न छाडेपछि मेलामा समेत प्रभाव परेको छ । अहिले सिङ्गो गाउँपालिकामा नै नेटवर्क विहीन बनेको छ।’

    स्थानीयवासी वसन्त चौहानले गत असोज २३ गते बेलुकी अज्ञात समूहले खप्तडछान्ना –४ माझीगाउँस्थित नेपाल टेलिकमको टावरमा तोडफोड गरेरको बताए ।

    माझी गाउँमा रहेको रिमोट टावरसँगै खप्तडछान्ना –७ माडुकाट्नेको टावर पनि तोडफोड भएको नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले जानकारी दिए ।

    दुई टावरबीचको रेडियो लिङ्कले काम गर्न छोडेपछि यहाँका २० हजार बढी नागरिक सम्पर्कविहीन भएको उनले बताए ।

    अहिले यी दुईवटै टावर मर्मतको काम भइरहेको छ । जिल्लामा दक्ष जनशक्ति अभाव र सबै उपकरण नयाँ राख्नुपर्ने भएकाले मर्मतको काम सक्न समय लाग्ने प्रमुख सिंहले बताए ।

    यसअघि पनि जिल्लाका विभिन्न क्षेत्रमा रहेका टावरमा तोडफोड र चोरीका घटना हुने गरेको बताइएको छ । टावरमा तोडफोड गर्नेको अहिले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख युवराज भण्डारीले बताए ।

    टावर जङ्गलमा रहेको हुँदा घटनाको वास्तविकता पत्ता लगाउन कठिनाइ भइरहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images