images
images
  • भकुण्डे–कोटतेमाल–मेच्छेपौवा सडक सञ्चालनमा, बीपी राजमार्गका लागि वैकल्पिक बाटो बन्यो

    धुलिखेल । बाढी पहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् ।

    यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालनको अनुमति दिइएको तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले बताए ।

    तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनले बताए ।

    उक्त सडकमा हाललाई हलुका सवारी साधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ ।

    बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको मङ्गलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए ।

    बीपी राजमार्गमा फसेका सवारी साधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाडौँ पुगेका छन् । राजमार्गको रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नं ९ मङ्गलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने पनि उनले जानकारी दिए । रासस

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images