images
images
  • हत्तपत्त नभेटिने अजिङ्गर तनहुँमा मात्रै ६ महिनाभित्र ४ वटा कसरी भेटिए ?

    तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चार अजिङ्गरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ ।

    कार्यालयले गत वैशाखदेखि यही असोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उक्त संख्यामा अजिङ्गरको उद्धार गरेको हो ।

    गत बिहीबार मात्रै व्यास नगरपालिका–१२ स्थित कमलबारीमा भेटिएको अजिङ्गरको उद्धार गरिएको सो कार्यालयले जनाएको छ ।

    कमलबारीमा दश फिट चार इन्च लामो र १५ किलो दुई सय ग्राम तौल भएको अजिङ्गरको उद्धार गरिएको उद्धारकर्ता अर्जुन श्रेष्ठले जानकारी दिए ।

    उद्धार गरिएका अजिङ्गरहरुलाई बस्तीदेखि टाढा,घनाजंगल र सुरक्षित स्थानमा लगेर छाड्ने गरिएको छ । केही अघि मात्रैव्यास–२ अमरापुरी,व्यास–१३ बेलबास लगायतका स्थानमा अजिङ्गर भेटिएका थिए ।

    पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा खण्डअन्तर्गत विस्तारको काम भइरहेको ठाउँमा सडकको नालीमा फेला परेको अजिङ्गर स्थानीयले जानकारी दिएपछि डिभिजन वन कार्यालयले उद्धार गरेको थियो ।

    सवारी चालक अर्जुनकुमार श्रेष्ठ, सशस्त्र वन रक्षक जमदार सूर्य सुवेदी, सशस्त्र वन रक्षकहरू कृष्ण कैनी, रामकाजी अधिकारी, गुननारायण श्रेष्ठ र चौकीदार उत्तम मल्लको टोलीले अजिङ्गरको उद्धार गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अजिङ्गरलाई संरक्षित सरीसृपको रूपमा लिइने गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए ।

    “अजिङ्गर हत्तपत्त भेटिने जीव होइन”, उनले भने, “यसले मानव जातिलाई क्षति नगरे पनि बाख्राका ससाना पाठापाठी खाएर नोक्सान पुर्‍याउने गर्दछ ।”

    हत्तपत्त नभेटिने अजिङ्गर तनहुँमा मात्रै ६ महिनाभित्र ४ वटा भेटिएपछि उनीहरु आहारा खोज्दै मानव वस्ती नजिक आएको हुनसक्ने जानकारहरुले बताएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images