images
images
  • भदौमा ५७ हजार नेपालीले काम खोजेर देश छोडे, पाँचौ ठूलो गन्तव्य बन्यो यूरोपेली देश

    काठमाडौँ । गत महिना काम खोजेर देश छोड्ने नेपालीको संख्या ५७ हजार भन्दा बढी रहेको पाइएको छ ।

    भदौ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ५७ हजार ४९३ जना रहेको छ ।

    वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७ जना नेपाली बिदेसिएका छन्, भने १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

    त्यसरी बाहिरिनेमा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ जना महिला रहेका छन् । म्यानपावर कम्पनी मार्फत २९ हजार ५२८ जना गएका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जना गएका छन् । त्यस्तै जीटुजी मार्फत एक हजार ३ जना गएका छन् ।

    भदौ महिनामा सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई)मा गएका छन् । यूएईमा १८ हजार ६०५ जना नेपाली काम खोज्दै गएको विभागको तथ्याङ्क छ ।

    त्यस्तै कतारमा ११ हजार २९१ जना, साउदी अरेबियामा १० हजार ८३५ जना, कुवेतमा चार हजार २१५ जना, रोमानियामा एक हजार ८८८ जना नेपालीहरु काम खोज्दै विदेशीएको विभागको तथ्याङ्क छ ।

    मलेसिया जाने श्रमिकमा भने व्यापक गिरावट आएको छ । कुनै समय प्रमुख श्रम गन्तव्य मुलुक रहेको मलेसियामा भदौ महिनामा भने एक हजार १९५ जना नेपाली मात्र गएका छन् । मलेसियाले गत मार्चमा आप्रवासी कामदार कटौती गर्ने निर्णय गरेसँगै नेपालबाट जाने कामदारको संख्यामा पनि गिरावट आएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images