काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा फेरि पदमुक्त भएका छन् । शुक्रबारको संसद् बैठकमा उनी पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिएको विश्वासको मतको विपक्षमा मतदान गर्न राजमो संसदीय दलले ह्वीप जारी गरेको थियो । तर थापाले ह्वीप उल्लंघन गर्दै तटस्थ बसेका थिए । थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरिएको हो ।
यस्तै, संसद् बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । सत्तारूढ दल एमालेले प्रदेशसभा सञ्चालन नियमावली अनुसार मन्त्रीहरूको अनुपस्थितिमा नै बैठक चलाएको भन्दै उठेर विरोध जनाएका थिए । एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारीले सभामुखलाई मन्त्रीको सहभागिता बिना बैठक चलाउन नसकिने बताएकी थिइन् ।
प्रकाशित मिति २०७८ जेठ २८ गते शुक्रबार ०६:४८